एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ :
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानले जनकपुरधाममा सभा गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानअन्तर्गत बिहीबार जनकपुरधामको बाह्रविगहामा सभा हुन लागेको हो । महाअभियानको जनकपुर अञ्चल कमिटीले मंगलबार जनकपुरधामका पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिएको छ ।
पत्रकार सम्मलनमा मध्यमाञ्चल कमिटी संयोजक नरेश साहले बैंक, लघुवित्तलगायतले गरेको नीतिगत अत्याचारका साथै हिन्दू राष्ट्र निर्माणका लागि महाअभियान चलाइएको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले ऋणीहरूलाई तनाब नदिन बैक, लघुवित्त तथा सहकारीहरूलाई आग्रह गर्नुभयो । संयोजक साहले जनकपुर अञ्चलबासीलाई यो अभियानमा साथ दिन आग्रह गर्नुभयो । आफूहरूले संघीयता नमानेकाले अञ्चल कमिटीहरू बनाएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
यो अभियान सफल भएमा ऋणीहरूका २० भन्दामुनिको ऋण मिनाहा हुने पनि उहाँको दाबी छ । सबै निजी बैंकहरूलाई राष्ट्रियकरण गरेर ब्याज दर ३ प्रतिशनमा झार्ने र वर्षमा १५० देखि २०० अर्बसम्मको भ्रष्टाचार रोक्ने उद्देश्यले आर्थिक क्रान्ति गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यस्तै, प्रत्येक परिवारको स्वास्थ्य बैंक खातामा अरु कामको लागि चलाउन मिल्न नसक्ने ५ लाखदेखि १५ लाखसम्म उपचार रकम जम्मा गर्न, बिना धितो चाहिएको बेलामा ब्याजमा बैंकबाट पैसा पाउनको लागि, ५ वर्षमा दाइजो प्रथा सधैँका लागि समाप्त गर्न र तलदेखि माथिसम्म हरेक विभागमा भ्रष्टाचार शतप्रतिशत अन्त्य गर्नका लागि आर्थिक क्रान्ति गर्न लागेको पनि महाअभियानले जनाएको छ ।
त्यस्तै, कलयुग राजबाट हटाएर रामराज जस्तो सुशासन व्यवस्था ल्याउन, विदेशमा रहेका कम से कम २०–२५ लाख नेपालीलाई नेपालमै राम्रो तलबमा जागिरको व्यवस्थापन गर्न, अत्याचार शोषण दमन अन्त्य गर्न, देशका सबै नेताहरूले अहिलेसम्म कुकर्म गरी कमाएका र घरमा लुकाएर राखेका अर्बौँ रुपैयाँ नष्ट गर्न आर्थिक क्रान्ति गर्नुपरेको पनि महाअभियानले जनाएको छ ।
५ वर्षभित्र गौ हत्या शसप्रतिशत अन्त्य गर्न, चोरी, डकैती, अपहरण, लुटपाट, अराजकता सबै अपराध सधैँका लागि बन्द गर्न, महिलाविरुद्ध हुने हिंसा रोक्न, नेपाली रुपैयाँको भाउ खाडीको मुद्राको तुलनामा बराबर गरेर लेबरमा काम गरी रहेका सबै नेपालीलाई नेपाल फर्काउनलगायत उद्देश्य लिएर दुर्गा प्रसाईले अभियान चलाउनुभएको हो । पत्रकार सम्मेलनमा महाअभियानका सगरमाथा अञ्चल संयोजक हरिकिशोर साह, सुरज शर्मा, प्रकाश राणालगायत सहभागी भएका थिए ।