एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ : जरजर अवस्थामा पुगेको धनुषा रघुनाथपुरको बरकुर्वा स्थित श्री फकिर चन्द गामी मावि बरकुर्वाका प्रअ बैजु कुमार साह उपर छानविन हुने भएको छ । विद्यालय प्राङ्गणमा मंगलवार भएको वृहत सर्वपक्षिय छलफलवाट प्रअ साहको कार्यकालमा भएका महत्वपुर्ण चल अचल सम्पतीहरु किनबेच, महत्वकांक्षी निर्णय सहितका सबै छानविन हुने र तत्काल प्रअ साह बुधवार देखि नगरपालिकामै पुगेर हाजरी गर्ने निर्णय भएको छ ।
छानविन समितिमा एकजना अनुभवि लेखापाल, वकिल, शिक्षाविज्ञ सहितको सहभागिता हुने र समितिले छानविन गरेको प्रतिवेदन पुनः सर्वपक्षिय भेला गरि सार्वजानिक गरिने समेत सहमती भएको छ । भेलामा विद्यालयका पुर्व विद्यार्थी तथा प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेस नेता आनन्द प्रसाद ढुङ्गाना, पुर्व मन्त्री मातृका प्रसाद यादव, प्रदेश सांसद संजय कुमार महतो, पुर्व प्रदेश सांसद किशोरी साह कमल, पुर्व संघिय राज्यमन्त्री बोधमाया यादव, समाजसेवी बलराम महतो, ब्रज किशोर यादव, दाता परिवारका सदस्य प्रदिप गामी सहितको उपस्थिती थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु, स्थानिय अभिभावक, अगुवा, विद्यार्थी र शिक्षकहरु समेत अधिकांश वक्ताले प्रअ साह आफनो मनमौजी गर्दा समस्या देखिएको बताउदै राजिनामाको मांग गरेपछि प्रअ साह उपर छानविनको निर्णय गरिएको छ । सबैला नगरपालिकाका मेयर कारीराम यादवको आह्वानमा भएको भेलामा विद्यालयका पुर्व विद्यार्थी र शिक्षकहरुले समेत प्रअ साहलाई नै समस्याको कारक भनेका थिए ।
यस अगाडि शिक्षकहरु नगरपालिकाको शिक्षा समिति अगाडि धर्नामा बस्नुका साथै कामकाज ठप्प गरेर आन्दोलन गरेका थिए भने शिक्षाविद्व सहितको टोली जरजर विद्यालयका रुपमा अवलोकन गर्न पुगेपछि सञ्चार माध्यममा विद्यालयको अवस्था वारे समाचारहरु प्रकाशन प्रशारण भएको थियो ।