एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : बिलबिजक बिना सुन कारोबार गरेको आरोपमा जनकपुरधामवाट पक्राउ परेका चारजनै सुनचाँदी व्यवसायी विहिवारनै रिहा हुने भएका छन् । जनकपुरधामका सुनचाँदी व्यवसायी बलराम साह र अरुण ठाकुरसहित सिरहा मिर्चैयाका थप दुई कालिगढ सहित सबैजनाको बिहीवार राती नै रिहाईको प्रक्रिया जारी छ ।
राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयले उनीहरूलाई बिलबिजक बेगर कारोबार गरिएको सुनको प्रचलित बजार मूल्यबराबरको रकम धरौटी लिएर रिहा गर्न लागेको हो । पक्रिया जारी छ विहिवार राती नै छुटने सम्भावना छ, जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुनचाँदी व्यवसायी मनिष रमण साहले बताए ।
साहको मुद्दामा पैरवी गर्न पथलैया पुगेका जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ललित साहका अनुसार सात लाख ८० हजार नौ सय नौ रुपैयाँ धरौटी राखेर सुनचाँदी व्यवसायी बलराम साह रिहा हुने भएका हुन् भने अर्का व्यवसायी अरुण ठाकुरसँग चार लाख २७ हजार धरौटी लिइएको छ ।
कालीगढ भनिएका सिरहा मिर्चेयाका अजय सुनारसँग बलरामसँग लिइएको रकम बराबर र सञ्जय सुनारसँग अरुणबाट लिइएको रकम बराबर धरौटी लिइनेछ । विभागको पथलैया कार्यालयका प्रमुख प्रेम देवकोटाले प्रहरी प्रतिवेदनमा बरामद समानको मूल्य अनुसार कायम रकम बराबर धरौटी लिई पक्राउ परेकालाई रिहा गरिए पछि पनि अनुसन्धान जारी रहने जानकारी दिए ।
बुधबार जनकपुरधाम स्थित आ आफ्ना व्यापारिक प्रतिष्ठानबाटै जिल्ला प्रहरी कार्यालय धनुषाले सुनचाँदी व्यवसायी साह र ठाकुरलाई अपराह्न पक्राउ गरेको थियो भने अन्य दुईलाई धनुषा प्रहरीले गत मंगलबार साँझनै जनकपुरधामको कलवार कुट्टीनजिक ठेलागाडाको पसलमा खाजा खाइरहेका बेला नियन्त्रणमा लिएको थियो ।
धनुषा प्रहरीले बुधबार नै पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाएको थियो । धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले सिरहा मिर्चेयाको कालीगढले बिलबिजक नभएको सुन बिक्री गर्न जनकपुरधाम ल्याएको सूचना प्राप्त भएपछि उनीहरूलाई पछ्याउँदा सुन बिक्री हुने पसल पहिचान गरी सञ्चालकलाई पक्राउ गरिएको जानकारी दिए । उनले सुन ल्याउने कालीगढ र सुन किन्ने पसले दुवैसँग बिलबिजक नरहेपछि राजस्व छली भएको आशङ्का उनीहरूलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको बताए ।
कालीगढसहित सुनचाँदी पक्राउ परेपछि जनकपुरधाम–४ स्थित सोनरपट्टीमा बुधबार टायर बाली प्रहरीविरुद्ध प्रदर्शन गरेका स्थानीय सुनचाँदी व्यवसायीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा नजिक टायर नै बाली विरोध जनाएका छन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बिलबिजक तत्काल नरहेको सामान्य त्रुटिका कारण प्रहरीले व्यवसायीको मानप्रतिष्ठा हरण तथा सिंगो व्यापारी समुदायलाई तर्साउनेगरी पक्राउ गरेको घटना दुःखद रहेको बताए ।