एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : तत्कालिन राजा महेन्द्र माथि जनकपुरधाममा बम प्रहार गरेका प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६१ औं बलिदान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिद्धारा सोमवार जनकपुरधाममा आयोजना गरिएको बलिदान दिवसमा समितिका अध्यक्ष समेत रहेका दुर्गानन्दका सहयात्री प्रजातन्त्र सेनानी वरिष्ठ पत्रकार स्व. राजेश्वर नेपालीका सुपुत्र राघवेन्द्र साहले आफुहरुले शहिद झाको शालिक अनावरण गर्न पाएको खुसी व्यक्त गरेका छन् ।
उनको पूर्णकदको अष्टधातुको ६ फिटको प्रतिमा गत जेठ १५ गतेको गणतन्त्र दिवसको अवसरमा नेपालीको करकमलवाट अनावरण गरिएको थियो । कार्यक्रममा जनकपुरधामका मेयर मनोज कुमार साहले अमर शहीद दुर्गानन्दको बलिदानी दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउन र सोबाट दलहरुले शिक्षा लिन आवश्यक भएको बताए । कार्यक्रममा शहिद झाको विरता, साहस र भुमिका झल्किने कविताहरु समेत बाचन गरिएको थियो । कार्यक्रममा पत्रकार श्रीनारायण साहले पनि शहिदलाई स्मरण सहित आफना श्रद्धाञ्जलीका शब्द राखेका थिए ।
जननायक विशेश्वप्रसाद कोईराला नेतृत्वको सरकारलाई तत्कालिन राजा महेन्द्रद्धारा वि.सं.२०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको एक वर्षपछि वि.सं. २०१८ साल माघ ९ गते राजा जनकपुरधाम आउंदा १९ वर्षीय युवा नेता दुर्गानन्द झाले जानकी मन्दिर प्राङ्गणमा राजा सवार गाडी माथि बम प्रहार गर्दा राजा बल्लतल्ला बांचेका थिए । दुर्गानन्दलाई सुरक्षाकर्मीले पक्राउ गर्न सकेन ।
उनको नाममा पक्राउ परेका अन्य साथीहरुमाथि वर्वतापूर्ण यातना दिएको सुनेपछि स्वयं २०१८ साल वैशाखमा दुर्गानन्दले आफै गिरफ्तारी दिएका थिए । उनलाई वि.सं.२०२० साल माघ १५ गतेको रातिमा काठमाण्डौस्थित सुनधारा केन्द्रिय कारागारमा गोली हानेर मृत्युदण्ड दिइएको थियो । उनले हातमा गीता पुस्तक लिएर हांसीहांसी प्रजातन्त्रका लागि मृत्युवरण गरेका थिए । शहिद झा धनुषाको जटही निवासी देवनारायण झा र माता सुकुमारी देवी झाका एक मात्र सन्तान थिए ।