एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : भारतको अयोध्या स्थित नवनीर्मित मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा मधेसको विभिन्न स्थानमा उल्लास देखिएको छ । मधेसको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख बढि दियो बाल्ने तयारी गरिएको छ भने मन्दिर प्राङ्गणलाई रंगोलीले सजाइएको छ । यसका साथै चोक चोकमा दिपोत्सवको आयोजना गरिएको हो ।
प्राण प्रतिष्ठाकै अवसर पारेर महोत्तरीको जलेश्वर, मटिहानी लगायतको स्थानमा समेत भव्य पूजा अराधना गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकामा रहेको लक्ष्मीनारायण मठमा भगवान सीतारामको २५ फिट अग्लो प्रतिमा बनाएर पूजा अराधना गरिएको छ । पूजामा लोसपाका अध्यक्ष महन्त ठाकुर, नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, लोसपा मधेश अध्यक्ष जितेन्द्र सोनल सहितक सहभागी हुनु भएको थियो । मन्त्री भण्डारीले सीताराम प्रतिमाको अनावरण गर्नु भयो ।
मन्त्री भण्डारीले अयोध्यामा नवनीर्मित मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा र ठाउँ ठाउँमा आयोजना गरिएको पूजा अराधनाले सीतारामको महिमा नयाँ पुस्तालाई बुझाउन सहज वातावरण निर्माण गरेको बताउनु भयो । नेपाल भारत बिचको सम्बन्ध सीतारामको वैवाहिक संस्कारबाट जोडिएको र यो सम्बन्धलाई कसैले तलमाथी गर्न नसक्ने उहाँको भनाई थियो । भगवान रामको मन्दिर निर्माणले विश्वभरी विश्वबान्धुत्वको भाव सिर्जना गर्ने मन्त्री भण्डारीले बताउनु भयो ।
मटिहानी रामायण कालिन भूमि रहेकाले भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा लक्ष्मीनारायण मठमा भव्य पूजाको आयोजना गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनु भयो ।