एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ : जनकपुरधामबाट श्रद्धालु बोकेर अयोध्या जाने तरखरमा रहेको रेल सेवा रद्द भएको छ । भारत अयोध्याको सुरक्षा सँयन्त्रले रेलबाट श्रद्धालु ल्याउन अनुमति नदिएपछि जनकपुरबाट भोली विहान ६ बजे अयोध्याको लागि प्रस्थान हुने भनिएको रेल सेवा रद्द भएको जनाईएको छ ।
भाडादर समेत तय गरी टिकटहरु समेत काटिसकेको अवस्थामा अन्तिम समयमा अयोध्याबाट सुरक्षा सँयन्त्रले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि रेल सेवा रद्द भएको हो । रेल सेवा रद्द भएको बारेमा नेपाल रेल्वेका प्रमुख प्रशासकिय सहायक रञ्जित ठाकुरले जानकारी गराएका हुन ।
दिउँसैदेखि भारतबाट आउने रेल जनकपुरबाट यात्रु लिएर अयोध्या जाने कार्यक्रम तय भएको थियो । भाडादर साधारणको १ हजार, एसी ३ को २ हजार र एस्सी २ को ३ हजार रुपैयाँ तय गरिएको थियो । रेल अयोध्यासम्म जाने भएपछि जनकपुरका यात्रुहरु उत्साहित भएका थिए । अयोध्या जाने भनिएको भारतिय रेल जयनगर सम्म पनि आइसकेको थियो ।