एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : एकल महिला सुरक्षा कोष प्रक्रियागत रुपमा अगाडि बढाउनुपर्ने माग गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले बिहीबार जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहमा रहेका विपन्न एकल महिलाहरु कोष मार्फत् सहयोग लिन बञ्चित भएको हुँदा कोष कार्यान्वयन गर्न माग गर्दै एकल महिला आबद्ध संस्थाहरुले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
समुह धनुषाकी अध्यक्ष सुभद्रा आलेले देश व्यापी रुपमा ७७ वटै जिल्लाका पालिका प्रमुखहरुलाई स्थानिय समुह मार्फत दबाबका लागि ध्यानाकर्षण पत्र बुझाएको बताईन ।
लक्षित वर्गका एकल महिलाहरुको सामाजिक न्यायमा अभिवृद्धिका लागि पनि कोषको प्रभावकारी र तत्काल कार्यान्वयन आवश्यक रहेको उनीहरुको माग छ । नेपाल सरकार महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिला सशक्तिकरण,क्षमता तथा मर्यादा अभिवृद्धि गरि सामाजिक र आर्थिक दृष्टिले कमजोर एकल महिलाहरुको हित र संरक्षणका लागि एकल महिला सुरक्षा कोषको स्थापना गरेको थियो ।
सो अवसरमा समुहकी अधिकृत पुजा साहले पत्र पढेर सुनाएकी थिइन् । ध्यानाकर्षण पत्र बुझदै जनकपुरधामका मेयर मनोज कुमार साहले सम्बन्धित परिपत्र आफुहरु कहाँ आइपुगेको हुनुपर्ने भन्दै आफुले बुझेर चालु आर्थिक वर्षमै कोष प्रभावकारी बनाउने प्रतिवद्वता जाहेर गरेका छन् ।