एसपी रिपोर्टर
जनकपुरधाम, पुष २६ : नेपाली कांग्रेस भित्र मधेशको पक्षमा बोल्ने प्रभावशाली नेता पुर्व उपसभापति विमलेन्द्र निधीले संघियता कार्यान्वयनका तिन मुख्य अधिकार प्राप्त नभए आन्दोलन गर्नुपर्ने भएकाले तयारी अवस्थामा बस्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
जनकपुरधामको वडा नं. ८ र १३ को सिमामा आयोजित शहिद सत्यनारायण पाठकको ३६ औं स्मृति सभालाई सम्बोधन गर्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधीले भने, ‘प्रदेश सरकारलाई प्रहरी, कर्मचारी र पालिकालाई संविधानमा उल्लेखित अधिकार नदिइए आन्दोलन गर्नुपर्दछ ।’
उनले नेता कार्यक्रतालाई उपलब्धी रक्षाका लागि सजग र सर्तक रहन आग्रह पनि गरे । संघियता ल्याउनु घर बनाउनु सरह बुझौं उनले भने, ‘घर बनाउँदा जसरी पहिला भान्सा घर बनाउँछौं त्यसरीनै पहिला प्रहरी, कर्मचारी र पालिकाको अधिकार लिन सक्नु पर्दछ ।’ उनले मधेशमा कांग्रेस पार्टीलाई कमजोर बनाउन विभिन्न गतिविधीहरु भइरहेको पनि बताए ।
प्राप्त संघिय संविधान मधेशका लागि एक महत्वपुर्ण उपलब्धी रहेको बताउदै उनले शहिद सत्यनारायण पाठक सहितकाले पार्टी निर्माण र जनताको हितमा खेलेको भुमिका सबै कांग्रेसीजनका लागि प्रेरणाको स्रोत हुनपर्ने बताए । सो कार्यक्रममा अनुपस्थितहरु तर्फ संकेत गर्दै उनले भने, ‘जो आएन आएन, जो आएन मलाई केहि भन्नु छैन, नआउनेहरुको रेल छुट्यो बुझनोस ।’
सो अवसरमा पार्टी धनुषा सभापति योगेन्द्र पजियार, जनकपुरधामका उपप्रमुख किशोरी साह, पुर्व सांसद मिनाक्षी झा, पत्रकार एवं महन्त नवल किशोर शरण सहितकाले आ आफनो मन्तव्य राखेका थिए ।
कांग्रेसको एक समुहले बेग्लै मनायो स्मृती दिवस
नेता निधी प्रमुख अतिथि रहेको सो कार्यक्रम आयोजन गरिएको दिन विहिवार नै विहान शहीद सत्यनारायण पाठकको ३६ औं पुण्य तिथि कांग्रेसकै अर्को समुहले समेत मनाएको छ । शहिद पाठकको शालिकमा माल्यार्पण गर्नुका साथै वृक्षारोपण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेपाली कांग्रेस वडा नं. ८ का वडा सभापति सुरेन्द्र शर्माको अध्यक्षता तथा पूर्व सांसद स्मृति नारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शहीद सत्य नारायण पाठककी श्रीमति गंभीरा देवी लाई दोसल्ला ओढ़ाई रु ११००० नगद राशि सहित सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता दिगम्वर राय, नेपाली कांग्रेस जिल्ला उपसभापति गणेश झा , महा समिति सदस्य प्रफुल्ल राज घिमिरे, नेपाली कांग्रेस मधेस प्रदेश सदस्य जीवनाथ चौधरी, वडा नं. १३ का वडा सभापति जीत बहादुर राउत, महन्त नवल किशोर दास, जगदीश महासेठ, पूर्व वडा अध्यक्ष रमेश ठाकुर, रामदेव यादव, पंकज महतो, संतोष राउत, मुकेश कर्ण, श्याम साह, राम श्रेष्ठ पाण्डे लगायत वडा नं ८ र १३ का स्थानीयहरुको उपस्थिति रहेको थियो ।