एसपी रिपोर्टर
जनकपुरधाम, पुस ९ :
जनकपुरधामस्थित जानकी मन्दिर अगाडि रहेका लक्ष्मी मिष्ठान भण्डारले अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आएको पाइएको छ ।
आन्तरिक राजश्व कार्यालयको मौनता कारण प्यानमा दर्ता रहेका लक्ष्मी मिष्ठान भण्डारले कर छली गर्न अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आएको हो । आन्तरिक राजश्व कार्यालयको नियमानुसार वार्षिक ५० लाखभन्दा कमको कारोबार गर्ने प्यानमा दर्ता र ५० लाखभन्दा माथि कारोबार गर्नेले अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ ।
एउटै प्यान नम्बरमा संचालकले उपमहानगर कार्यालय नजिक र जानकी मन्दिर अगाडि गरी दुईवटा होटल संचालन गर्दै आएको छ । दैनिक लाखौ रुपैयाको कारोबार रहेका लक्ष्मी मिष्ठान भण्डारले प्यानमा दर्ता भएपनि ग्राहकलाई बिना प्यान, संस्थाको नाम उल्लेख नरहेका कम्प्यूटरकृत बिल दिइरहेका छन् । हुनत ग्राहकले माग गरेको अवस्थामा हस्तलिखित प्यान बील समेत दिन्छन ।
प्यानमा श्री लक्ष्मी मिष्ठान भण्डारले दर्ता छन् । प्यान बील पनि सोही नामले दिइरहेका छन् । तर राजश्व कार्यालयलाई झुक्याउन एउटा होटलको नाममा प्यान अनुसार नै राखेको छ भने अर्को होटलमा श्री हटाएर लक्ष्मी मिष्ठान भण्डार मात्रै राखेका छन् ।
आन्तरिक राजश्व कार्यालयका एक कर्मचारीका अनुसार कुनैपनि फर्म/संस्थालाई कम्प्यूटर बील प्रदान गर्न राजश्वमा कुन सफ्टवेयर चलाउने जानकारी गराई त्यहाँबाट स्वीकृति सहित कोड नम्बर लिनुपर्ने हो । ग्राहकलाई बिल प्रदान गर्दा फर्म/संस्थाको नाम, प्यान/भ्याट नं. र राजश्व कार्यालयबाट प्राप्त कोड नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हो ।
तर सोमवार लक्ष्मी मिष्ठान भण्डारले एक ग्राहकलाई दिएको बीलमा न त फर्म/संस्थाको नाम, न प्यान/भ्याट नं. र न कोड नं. नै उल्लेख रहेको छ । सो बीलमा संस्थाको नाममा एडमीन, सामाग्री विक्री गरेको दररेट सहित नामावली, टेबल नम्बर मात्र उल्लेख छ । बीलको प्रकृति हेर्दा लक्ष्मी मिष्ठान भण्डारले राजश्वर कार्यालयसँग स्वीकृति नै नलिई कम्प्यूटर बिलिङ्ग गर्दै आएको छ । यति मात्र होइन सो मिष्ठान भण्डारले जनकपुरधामको अन्य होटलभन्दा दोब्बरभन्दा बढी चर्को मूल्य लिइ ग्राहकलाई लुटदै आएको देखिन्छ ।
आन्तरिक राजश्व कार्यालय जनकपुरधामको अनुगमनको बेवास्ताका कारण जनकपुरधाम बजारमा लक्ष्मी मिष्ठान भण्डार मात्रै होइन दर्जनौ व्यवसायी वर्षेणी करोडौ रुपैयाको कारोबार गरे कर छली गर्न ग्राहकलाई बिलै नदिने, बील दिएपनि स्टीमेट र कम्प्यूटरकृत बील दिने गरेको छ । खासगरी होटल, स्वास्थ्य संस्था, कोल्डस्टोर र किराना व्यवसायी छन् ।