एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : प्रत्येक वर्ष जस्तै जनकपुरधामको रामानन्दचौक स्थित श्री रामानन्द युवा क्लवले वार्षिकोत्सवको अवसरमा प्रदान गर्ने पुरस्कारहरुबाट यस वर्ष पनि विभिन्न श्रष्ठा पुरस्कृत भएका छन् । क्लवले भाषा साहित्य तर्फ प्रदान गर्ने श्री विद्यापति स्मृति पदक पुरस्कारबाट यसवर्ष मैथिली साहित्यकार सभाका प्रेम विदेह ललन र श्री सरस्वती राजनारायण कला पुरस्कारबाट गायक, संगितकार तथा क्लवका पुर्वअध्यक्ष अनिल मिश्रलाई पुरस्कृत गरेको छ ।
साथै क्लवका पुर्व अध्यक्ष तथा प्रदेश सांसद दिपेन्द्र ठाकुरले खेलकुद क्षेत्रका लागि आफनो बुवाआमाको नाममा घोषणा गरेको वशिष्ठ चन्द्रकला पुरस्कार यसवर्ष युवा क्रिकेटर हरिशंकर साहलाई प्रदान गरिएको छ । उनी मधेश प्रदेश क्रिकेट टिमका कप्तान हुन । उनको नेतृत्वको टिम केहि दिन पुर्व मात्र पोखरामा केपि ओली कपको उपाधि जितेको थियो ।
यि तिनवटै पुरस्कारको राशी २१÷२१ हजार रहेको छ । सो अवसरमा क्लवको आयोजनामा आइतवार भएको रक्तदान कार्यक्रमका रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार, सम्मान र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्व उपप्रधानमन्त्री रघुविर महासेठले प्रदान गरेका थिए ।
क्लवका अध्यक्ष शशि भुषण झा आशुतोषको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधीसभा सदस्य जुली महतो, पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव, जनकपुरधाम वडा नं. ८ का अध्यक्ष दिनेश सिंह, क्लवका उपाध्यक्ष सन्तोष मान सिंह सहित पदाधिकारी, पुर्व पदाधिकारी तथा पुर्व अध्यक्षहरु सहित समाजका अगुवाहरुको उपस्थिती थियो ।