एसपी रिपोर्टर
जनकपुरधाम, पुष २ : जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा हिजो भगवान सीतारामको विवाह भएको मण्डपमै २१ नव जोडीले स्वयंवर रचाएर नयाँ जिवनको सुरुवात (शुभ विवाह) गरेका छन् । विश्व हिन्दू परिषद्ले आज जनकपुरधाममा आयोजना गरेको निशुल्क सामुहिक विवाहमा अनाजवाट रामजानकीको स्वयंवरको प्रतिमा बनाउन भारतको मध्य प्रदेशवाट जनकपुरधाम आएका कलाकार सतिश गुर्जर सहित २१ नयाँ जोडीको विवाह सम्पन्न भएको छ ।
कलाकार गुर्जरले आफनो स्वयंवर जनकपुरधाममा हुने अवसर जुडेकोमा भाग्यशाली महशुस भइरहेको बताए । उनले भने, ‘भगवान रामजानकीको स्वयंवरको प्रतिमा बनाउन आएको थिए पवित्र यस धर्तीमा आफनो स्वयंवर समेत भयो, यो भगवानकै ईच्छा थियो भन्ने लागेको छ ।’ उनले स्वयंवर जनकपुरधाममा गरेको र गाँउ पुगेर विवाह धुमधामका साथ गर्ने बताए ।
सतिश संगै स्वयंवर रचाएकी उनको जोडी यागिनी गुर्जर भारत मध्य प्रदेश उनको गाँउ हार्जाकै हुन र उनीसंगै टिममा आएकी थिईन् । जनकपुरधामकी चेली गुन गुन मिश्रको पहल र समन्वयमा जनकपुरधाम मुर्ती बनाउन आएका उनीहरु जनकपुरधामै लगनगाँठोको सौभाग्य पाएको छ ।

उनी सहित २१ जोडी बर बधुको निःशुल्क शुभ विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहका अनुसार जनकपुरधामको कलवार धर्मशालामा सवै जोडी सहित उनका परिवारजन जम्मा भएर खानपीन गर्दै वेहुलालाई रथमा बाजागाँजा सहित नगर परिक्रमा गराइएको छ । साथै सो समयमा बेहुली सबैलाई रितु ब्युटी पार्लरमा तयार गरि साँझ जानकी मन्दिरको प्राङ्गणमा जहाँ हिजो रामजानकीको विवाह भएको थियो सोहि विवाह मण्डपमा सामुहिक स्वयंवर गरिएको छ ।
कलाकार सतिश गुर्जर वाहेक २० जोडीको वैवाहिक कार्यक्रम समेत आजै सम्पन्न हुने साहले बताए । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना प्रत्येक वर्ष जस्तै यस पनि गरिएको परिषद्ले जनाएको छ । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको र विवाह पञ्चमीको शुभ दिन भएका कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य वैवाहिक सरसमान र भोज सहितका आवश्यक पर्ने सबै सामाग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ । विवाहलाई कम खर्चिलो तथा ऐतिहाँसिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनौट गर्ने काम भएको छ ।
विगत केही वर्ष देखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरुले जनाएका छन् ।

अन्य वैवाहिक विधी र कार्यक्रम राती कलवार सेवा समितिमै हुने परिषद्का सहयोगी अमर श्रीवास्तवले जानकारी दिनु भएको छ । विवाह गर्न चाहने बेहुला बेहुलीको उमेर पुगेको हुनु पर्ने भएकाले उमेर खुलेको नागरिकता सहितको आवश्यक कागजपत्र पहिला बुझाउनु पर्ने प्रावधान रहेको परिषदको भनाई छ ।