एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको भौगोलिक, जैविक विविधतासँगै सिर्जनात्मक विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम तथा शान्तिनिकेतन हिन्दी प्रचार सभ, शान्ति निकेतन पश्चिम बंगाल भारतले आयोजना गरेको उत्सवको समुदघाटन सत्रलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले विविध कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षणबिना कुनै पनि देशको विकास कठिन हुने बताए ।
मैथिली र नेपालीमा बोलेका उनले स्व. राजेश्वर नेपाली तथा डा. राजेन्द्र प्रसाद विमल सहितका व्यक्तित्वहरु हिन्दी, नेपाली, मैथिली सहितका विभिन्न भाषाहरुमा गरेको सृजना, रचना र कामहरुले देशमै ख्याती पाएको भन्दै जनकपुरधामको विकासमा ति व्यक्तिहरुको महत्वपुर्ण भुमिका रहेको बताए । पूर्व राष्ट्रपति यादवले दुवै देशका भाषा, साहित्य, संस्कृति तथा भूगोलमा समानता रहेको चर्चा गर्दै यस्ता प्रकारको उत्सव ऐतिहासिक तथा धार्मिक महत्वको जनकपुरधाममा हुनु दुवै देशका लागि गौरवको विषय भएको बताए ।

कार्यक्रममा नेपालका लागि वीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनाले हिन्दी, नेपाली, मैथिली तथा बङ्गालीका बीचमा समानता रहेको भन्दै यस्ता उत्सवले दुवै देशलाई जोड्ने बताए । नेपाली पत्रकारिताका एतिहाँसिक व्यक्तित्व राजेश्वर नेपालीको स्मरणमा भएको कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले नेपालका भाषातर्फ खुसीलाल मण्डल, साहित्यतर्फ रामस्वरुप ठाकुर, भाषातर्फ प्राध्यापक डा. आशा सिन्हा, साहित्यतर्फ शिवशङ्कर यादवलाई सम्मानपत्र, दोपटा तथा स्नेहक प्रतीक चिन्ह प्रदान गरेका थिए ।

त्यसैगरि भारतका तर्फबाट भाषातर्फ जाली बेगम, श्रीमती शावाना साजिद, श्रीमती धराश्वरी मेहन्ती, श्रीमती मिताली साङ्गक्रियांं र साहित्यतर्फ प्रदीप कुमार सिंहलाई पूर्व राष्ट्रपति डा. यादवले दोपटा, सम्मान पत्र, स्नेहक प्रतिक सहित सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधामका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्र साह, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, बङ्गालका साहित्यकार प्राध्यापक प्रणव भट्टोपाध्याय, प्रतिनिधि सभाका सदस्य रेखा यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, हिन्दीका प्रखर वक्ता रमण पाण्डे, समाजसेवी बलराम महतो, मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिताराम अग्रहरी सहितका वक्ताहरूले धारणा राखेका थिए ।
सो अवसरमा विभिन्न देशवाट आगन्तुक साहित्यकार, विज्ञ तथा पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।