एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठले मधेशवादी भएकै कारण अव न्यायालयले समेत हेप्ने र डराउने काम गरेकाले पार्टीले विद्रोह गर्नुपर्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै महासेठले पार्टीको मधेश प्रदेशका संसदिय दलका नेता प्रदेश सांसद तथा पुर्व राज्यमन्त्री अभिराम शर्मालाई एउटै घटनामा नियतवस फँसाउने काम भएको भन्दै सबै सरकार परित्याग गरि सडकमा आउनुपर्ने बताएका छन् ।
उनले लेखेका छन, ‘मधेश प्रदेश को संसदीय दल को नेता मा. अभिराम शर्मा लगायत पार्टीका अन्य नेता जिहरु को बारेमा आजको महोत्तरी जिल्ला अदालतको निर्णय पछी पार्टीले सब भन्दा पहिला सबै तहको सरकारबाट आफ्नो समर्थन फिर्ता लिनु पर्छ ! बिगतमा पनि तत्कालीन राजपा पार्टी हुदा मा. रेशमलाल चौधरीको बारे मा कैलाली जिल्ला अदालतको दुर्भाग्यपूर्ण फैसला पछि तत्कालीन सरकार बाट समर्थन फिर्ता लिएको नजिर छ ! पहिला त आफै बाट सुरु गर्नु पर्यो अनि मात्र अन्य समान बिचार धाराको पार्टी र शक्ती सङ सहकार्यमा अन्य कार्यक्रम घोषणा गर्नु पर्छ !’
महोतरी जिल्ला अदालतले विहिवार फैसला सुनाउदै सशस्त्र प्रहरी बलका असई थमन विक मारिएको घटना मुद्दामा मधेशवादी बाट अन्य पार्टीका नेता भइसकेकालाई सफाई र लोसपाका शर्मा तथा सोहि पार्टीका जलेश्वरका पुर्व मेयर सहितकालाई जन्मकैदको सजाय सुनाएपछि लोसपामा खैलाबैला मचेको छ ।