एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहिबार धनुषयज्ञ विधि सम्पन्न भएको छ । त्रेता यूगमा तत्कालिन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिदै आएको छ ।
सप्ताहव्यापी वैवाहिक कार्यक्रम अन्तर्गत तेस्रो दिन धनुषयज्ञको आयोजना गरिएको छ । त्रेतायुगमा राजा जनक आफनो दरबारमा रहेको पिनाक नामक धनुषमा प्रत्यञ्चा चढाउने विर राजकुमारसंग मात्र आफनी छोरीको विवाह गर्ने उद्घोष गरेका थिए । छोरी सीताका लागि एक विर योद्वा राजकुमार चयन गर्न राजर्षि राजा जनकले आयोजना गरेको धनुषयज्ञमा सहभागी भएका अयोध्याका राजकुमार श्रीराम प्रत्यञ्चा चढाउन सफल भएको र सो धनुष तीन टुकड़ा भएको जनविश्वास छ ।
यसै घटनालाई प्रतिकात्मक रूपमा कुनै वर्ष जनकपुरधामको बाह्रबिघ्घा रंगभूमि मैदान र कुनै वर्ष जानकी मन्दिर प्राङ्गणमा देखाउने गरिन्छ । यस वर्ष जानकी मन्दिर प्राङ्गणमै आयोजित धनुषयज्ञमा भगवान रामका स्वरूप धारण गरेका श्रीराम प्रत्यञ्चा चढाएका छन् । धनुषयज्ञ दर्शनावलोकन गर्न अत्याधिक संख्यामा साधुसन्त, सर्वसाधारण तथा नगरबासी सहभागी हुने प्रचलन छ ।
धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम, लक्ष्मण, भरत तथा शत्रुध्न सहित सहभागि भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुकडा भएको थियो । त्यस पश्चात मात्रै माता सीताको विवाह भगवान रामसंग भएको वाल्मिकी रामायणमा उल्लेख छ ।
विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ । चौथो दिन मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते मटकोर रहेको छ भने पुस १ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । पुस २ गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा भव्य रुपमा सप्ताहव्यापी महोत्सवको आयोजना गरेर विवाहपञ्चमी महोत्सव मनाउने चलन रहेको छ ।