एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २७ : प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सव मनाइदैछ । विवाह पञ्चमीको दोस्रो दिन बुधवार फुलबारी लिला सम्पन्न भएको छ । जानकी मन्दिर छेउकै विवाह मण्डपको फुलबारीमा भगवान श्री सीताराम र श्री लक्ष्मण बिच फुलवारीमा भेटघाट हुन्छ ।
राम र सीतालाई एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला भन्ने गरिएको हो । राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन छ । साधुसन्त र मिथिलानीहरुको गितगानका बिच बगैंचामा भगवान रामजानकीको भेटघाटको दृश्य सबैका लागि मनमोहक हुन्छ ।
सप्ताह व्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन जनकपुरधाम नगर दर्शन, र दोस्रो दिन फुलवारी लिला हुन्छ । नगर दर्शनमा माता जानकीलाई नगर दर्शन गराउने गरिन्छ । नगरदर्शनका क्रममा राम र जानकीको रूप धारण गरेकालाई जानकी मन्दिरको प्राङ्गनमा राख्ने गरिन्छ । यसका साथै रामायणका अरु पात्रहरू पनि नगर दर्शनमा सहभागी हुने गर्छन् । यो कार्यक्रममा राम, सीतासहित रामायणका पात्रका अगाडि नगरबासीलाई उपस्थित गराउने परम्परा रहेको छ । गितगान त मिथिलाको विवाहमा हुनै पर्दछ ।
महोत्सवको तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौ दिन राम कलेवाको आयोजना गरि महोत्सवको समापन हुन्छ । रामकलेवामा जन्तीलाई भोजन, दक्षिणा र सम्मान सहित बिदाई गरिन्छ ।