एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २६ : श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन मंगलवार जनकपुर नगर दर्शन कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधाममा मंगलवार बेलुकी राम र जानकीलाई नगर दर्शन गराइएको छ । त्यस क्रममा राम र जानकीको प्रतिकलाई जानकी मन्दिरको प्राङ्गनमा राखेर गितगान गरिएको छ ।
साथै रामायणका अन्य पात्रहरुलाई समेत नगर दर्शनमा सहभागी गराइन्छ । यस कार्यक्रममा राम, सीतासहित रामायणका अन्य पात्रका अगाडि नगरबासीहरुलाई उपस्थित गराउने परम्परा छ । महामहोत्सवको कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधवार फूलवारी लिला हुनेछ । भगवान राम र सीतालाई शान्त ठाउमा भेटघाट गराउने कार्यक्रमलाई फूलबारी लिला भनिन्छ ।
राम र सीताबीच पहिलो पटक बगैंचामा भेट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गरिने प्रचलन छ ।त्यसै गरि तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाचौं दिन मटकोर, छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौं दिन राम कलेवा (बिदाई) को आयोजना हुदै विवाह पञ्चमीको समापन हुन्छ ।