एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २६ : जनकपुरधाममा आजदेखि दोस्रो संस्करणको विद्यालय स्तरीय रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सुरु भएको छ । निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजनामा विद्यालय स्तरीय दोस्रो रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उदघाटन म्याचमा धनुषा पब्लिक स्कुललाई पराजित गर्दै श्री राम स्कुलले ८३ रनले जित निकाल्दै विजयी सुरुवात गरेको छ । टस जितेर धनुषा पब्लिक स्कुलले फिल्ड रोजेपछि पहिलो ब्याटिङ्ग गरेको श्री रामले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतीमा २ सय २ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङ्ग गर्न आएको धनुषा पब्लिक स्कुल २० ओभरमा ९ विकेटको मद्दतले मात्र १ सय १९ रन बनाउन सकेपछि श्री रामको जित सहज भएको हो । श्री रामका लागि रवि साहले ५४ बलको सामना गर्दै सम्मानजनक ८५ रन टिमका लागि जोड्दै स्कुललाई जिताउन सफल भएका हुन । सो क्रममा उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने छ । समुदघाटन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, प्रदेश सांसद दिपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधामलाई खेलकुल हब बनाउन प्रस्तावित अन्तराष्ट्रिय रंगशालाको निर्माण अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताए ।
एनप्यावसनमा आवद्ध १२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको एनप्यावसन धनुषाका अध्यक्ष तथा जिल्ला क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए । उनले पहिलो संस्करणमा ८ वटा टिम मात्रै सहभागी रहेकोमा दोस्रो संस्करणमा १२ वटा टिम सहभागी रहेको जानकारी दिए । झाले प्रतियोगिताबाट प्रतिभावान ४० खेलाडीको टिम बनाएर प्रशिक्षण दिइने र राम्रा १५ जना खेलाडीलाई क्रिकेट प्रशिक्षण सहित पढाईको लागि छात्रवृति दिने तयारी रहेको बताए । उनले प्रदेश स्तरीय प्रतियोगीता पनि जनकपुरधाममै गरिने बताए । सो अवसरमा क्यान धनुषाका अध्यक्ष गुड्डु पाण्डे, एनप्याबसनका अगुवा बुलन मिश्र, केन्द्रिय पदाधिकारीहरु, प्रदेशका अगुवाहरु सहितको उपस्थिती थियो ।
प्रतियोगितामा सहभागी प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने र विजेता तथा उपविजेता टिमलाई आकर्षक कप र प्रमाणपत्र दिइने उनले बताए । जनकपुरधाममा पछिल्लो समय क्रिकेट क्रेज बढेको छ । नियमित खेलकुदको गतिविधिहरु भइरहेको छ । हालै पोखरामा भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको छ । देशमा संघीयता आएपछि पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्तरको प्रतियोगिता जितेको हो ।