एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २६ : आजपाका केन्द्रिय अध्यक्ष पुर्वमन्त्री प्रभु साहले मधेशको राजधानी जनकपुरमा निर्माणाधीन सहरी पूर्वाधारका महत्वपुर्ण आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । आफु शहरी विकास मन्त्री हुँदा अगाडि बढाएका योजनाहरुको प्रगती बुझन सहरी मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क , दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको अवलोकन गर्दै उनले कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको बताएका छन् ।
उनले भने, ‘मैले शुरू गराएको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० कि.मि. सड़क कालोपत्रे, ८० कि.मि. नाला, बिभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुखद अनुभूति भयो ।’ साथै, आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल देखियो, जस्तै बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएकोछ, त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भईरहेको उनले बताए ।
त्यस्तै अहिले निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएकोछ । यसमा सरकारको गम्भीर ध्यान जान जरुरी छ उनले थपे । उक्त अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डल, नेकपा ( माओवादी केन्द्र) का नेता मा. भरत साह तथा सहरी डिभिजन प्रमुख प्रदीप खनाल लगायतको सहभागिता थियो ।