एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २५ : जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र नेपालका लागि बेलायतका राजदूत रोब फेन बिच भेटवार्ता भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा सोमवार भएको भेटमा द्विपक्षीय हितलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उपमहानगरपालिकाले जनाएको छ ।
भेटको क्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख साहले विभिन्न परियोजना मार्फत जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक– सामाजिक विकासमा गरेको योगदानको सराहना गर्दै थप पारस्परिक सहयोगका लागि अन्य क्षेत्रमा पनि आगामी दिनमा अझ सम्झौता र साझेदारीको विस्तार हुने विश्वास व्यक्त गरेका छन ।

उपमहानगरपालिका क्षेत्रभित्र पूर्वाधार विकास र जलवायु परिवर्तनबाट उत्पन्न प्रकोप नियन्त्रण सम्बन्धमा उहाँहरु बिच छलफल भएको छ । भेटका क्रममा बेलायती राजदुत रोब फेनले उपमहानगरपालिकाको सुशासन र शासकीय प्रणाली बारेमा चासो राखेका थिए । छलफल पश्चात उपमहानगरपालिकाको कार्यालयमै मिथिला पेन्टिङ्ग तथा स्थानिय कलाकृतीका सरसमानहरुको स्टल अवलोकन गर्दै राजदुत सहितको टोलीले किनमेल समेत गरेका थिए ।
मिथिला कला कृती सहितको प्रदर्शनीमा राखिएको सरसमानहरु प्रति जिज्ञासु देखिएका राजदुत सहित उनको टोली प्रर्वद्वनका लागि सरसमान पनि तत्कालै किनेका थिए ।