एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २५ : नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले संघियता कार्यान्वयका लागि राष्ट्रिय सहमती अपरिहार्य रहेको भन्दै त्यसका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको क्षेत्र नं. २ औरही गाँउपालिको औरहीमा त्यस क्षेत्रका पूर्व क्षेत्रिय सभापती स्व. राज किशोर सिंहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन नेपाल आर्मीको हेलिकप्टरबाट धनुषा आएका पुर्व प्रधानमन्त्री देउवाले आफु बढि कुरा गर्न नचाहेको भन्दै संघियता कार्यान्वयन गर्न राष्ट्रिय सहमतीका लागि प्रयास गर्नुपर्ने बताए ।
दुई देखि तिन मिनेट मात्र बोलेका उनले देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गइसकेकाले संघियताको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमती भए सहज हुने भएकाले आफु त्यसका लागि पहल गर्ने बताए । त्यस अघि बोलेका पार्टीका पुर्व उपसभापति विमलेन्द्र निधीले कुनै पनि सरकार सञ्चालनका लागि सुरक्षा र प्रशासनिक निकाय नभई नहुने मान्यता समेत नेपालको प्रदेश सरकारका हकमा हुन नसक्नु दुःखद रहेको बताए ।
उनले आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश सरकारहरुलाई तत्कालै प्रहरी संगठन हस्तान्तरण गरि संघियता कार्यान्वयको पहिलो कदम अगाडि चाल्न ध्यानाकर्षण गराईसकेको बताए । उनले संघियता कार्यान्वयका लागि तत्कालै तिन मुख्य काम प्रदेश सरकार मातहत प्रहरी संगठन, प्रशासनिक संरचना र राजनितिक, आर्थिक अधिकार सहितको सवल स्थानिय तहको सुनिश्चितता गर्न संघिय सरकार संग मांग गरेको र पटक पटक भनेको पनि बताए ।
सो अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि संघियता कार्यान्वयनमा आनाकानी गरिरहेको वर्तमान अवस्थाका विरोधी दलहरुलाई मधेशका जनताले चिन्नु पर्ने बताए । कार्यक्रममा बोलेका पार्टीका मधेश प्रदेशका सभापति तथा मधेश सरकारमा पार्टीका अगुवा कृष्ण यादव नेताहरु आनन्द प्रसाद ढुङ्गाना, रामकृष्ण यादव सहितकाले सम्बोधन गर्दै अथक प्रयास, सर्वदलिय सहमती र शहिदको बलिदानीबाट प्राप्त संघियता बचाउन सबै दल एकजुट हुनुपर्ने बताए ।