एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २४ : आईतवार नेपाल पत्रकार महासंघ धनुषा शाखाले एक कार्यक्रमको आयोजना गरि तिनै तहको सरकारका प्रतिनिधीहरुलाई डाके । कार्यक्रमको विषय थियो, ‘सञ्चारजगतको सबलिकरणका लागि सरोकारबालाको भुमिका’ । सरोकारबालाका रुपमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, संघिय सांसद रामकृष्ण यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह र गौशाला नगरपालिकाकी उपप्रमुख रेण कुमारी महतो सहभागि थिए ।
सभामुख मण्डल सञ्चार जगतको सबलिकरणमा म के के गर्न सक्छु वा गर्न चाहेको छु भन्दा पनि आफुहरु गरिवको नेता, रामकृष्ण जीहरु धनीहरुको नेता देखि चाटुकारहरुका कारण वास्तिवक पत्रकारलाई समस्या सहितको प्रसंग खोतल्न थाले । पत्रकार र सञ्चार जगतको समस्या र विकृतीका बारेमा बोलेको उनले कार्यक्रमले एउटा सरोकारवालाको रुपमा उनबाट खोजेको विषयमा भने बोलेनन् ।
पत्रकारहरुलाई प्रदेशसभामा पहिला जस्तै बस्ने व्यवस्था मिलाउन आफु प्रयासरत रहेको बताएका उनले नितिगत रुपमा प्रदेशसभाले संसदिय पत्रकारिताको विकास, दक्षता अभिवृद्विको सम्बन्धित विषयमा मौन नै रहे । प्रतिनिधीसभा सदस्य रामकृष्ण यादव पनि राजनितिक भाषण र पत्रकारिता जगत भित्रको समस्या भन्दा बाहिर निस्कन सकेन । एउटा प्रतिनिधीसभा सदस्यको नाताले मेरो भुमिका प्रस्तुत सन्दर्भमा के हुन्छ भन्ने कुरा वहाँको मन्तब्यमा पनि सुनिएन ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह बिरगंज महानगरपालिका जस्तै विज्ञापन वितरण प्रणालीका लागि आफु ऐन बनाउन कोशिस गर्ने, कार्यपालिकाको बैठकमा भनाभन हुने गरेकाले प्रत्यक्ष प्रसारण गर्न नसकिने बरु त्यसपछि पत्रकार सम्मेलन गर्न सकिने सहितका विषयमा बोलेपनि यहाँको सञ्चारजगतलाई सम्मान न्यायका लागि ठोस खाका प्रस्तुत गर्न सकेनन् ।

गौशालाकी उपप्रमुखको भाषण औपचारिकतामा मात्र सिमित थियो । लामो समय पछि सरोकारवालाहरु संग बसेर आफना क्षेत्रको सबलिकरणका लागि भएको प्रयासमा पनि सन्तोषजनक खाका, तर्क र यहाँ सम्मकी प्रतिवद्वता समेत नआएपछि धनुषाका पत्रकारहरु सन्तुष्ट देखिएन । पत्रकारहरुले तिनै तहका प्रतिनिधीहरुबाट सञ्चार माध्यम र पत्रकारहरुको सबलिकरणमा वहाँहरु के के गर्न सक्नु हुन्छ भन्ने कुराको अपेक्षा गरेका थिए ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको आयोजनामा भएको कार्यक्रममा मधेश सरकार आम सञ्चार प्राधिकरणका प्रमुख श्यामसुन्दर यादवले आफनो अहिले सम्मको कार्यप्रगति विवरण तथा पत्रकार विरेन्द्र रमणले धनुषामा पत्रकारिताको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको उपाध्यक्ष ज्योति झा, महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा, निवर्तमान अध्यक्ष अनिल मिश्र, वरिष्ठ पत्रकार बि.एम.खनाल सहितको उपस्थिती थियो ।