एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २२ : वरिष्ठ पत्रकार, प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा महोत्तरीको रतौली क्रिकेट टिम ७ विकेटले जीत हासिल गरेको छ ।
शुक्रवार भएको धनुषाको ठेरा टिमलाई पराजित गर्दै महोत्तरीको रतौली क्रिकेट टिम विजयी भएको हो । खेलमा रतौली क्रिकेट टिमले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा ठेरा क्रिकेट टिम मात्र ९१ रन बनाएर अल आउट भएपछि रतौलीको जित सुनिश्चित भएको हो ।
टस जितेर ब्याटिङ गरेको रतौली क्रिकेट टिमले खेलेको आक्रामक खेल सबैका लागि आकर्षण बनेको थियो । उक्त खेलमा म्यान अफ दी म्याच रतौलीका अभिनन्दन ठाकुर घोषित गरिएको थियो । विहिवार भएको दोस्रो दिनको खेलमा बगेवा–६ टिमले बसहिया–२४ लाई ९ विकेटले पराजित गर्दै जित दर्ज गरेको थियो ।
दुधमत्ती युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजेताले प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र कप प्राप्त गर्ने आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताए ।
वडा अध्यक्ष साहले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघ्घा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने पनि घोषणा गरेका छन् ।