एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २१ : मधेश प्रदेशमा “सशक्त महिला समृद्ध नेपाल“ कार्यक्रमको शुभारम्भ भएको छ । खेलकुद तथा सामाज कल्याण मन्त्रालय, मधेश प्रदेशले जनकपुरधाममा विहिवार एक कार्यक्रम आयोजना गरि सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको शुभारम्भ गरेको हो । मधेश प्रदेश, खेलकुद तथा सामाज कल्याण मन्त्रालयको समन्वयमा प्रदेशको ८ जिल्ला मध्ये ६ वटा जिल्लाका १२ वटा पालिकामा सञ्चालन हुने यो कार्यक्रममा युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू (युएनएफपिए, आइएलओ, युएन वुमन र युनिसेफ) सहितको प्राविधिक सहयोग रहने छ ।
संयुक्त कार्यक्रमलाई मधेश प्रदेशमा स्वागत गर्दै मधेश प्रदेशसभाकी महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा कुमारी यादवले मधेशमा महिला हिंसाको घटना बढिरहेकोले यसलाइ नियन्त्रण गर्न प्रदेश सरकारले विधेयक ल्याउन लागेको र सरकारी जागिरमा महिलालाइ ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने योजना पनि बनाउन लागेको जानकारी गराइन । उनले व्यापक प्रचार प्रसारका बाबजुद पनि महिला हिंसा न्युनिकरण हुन नसक्नु दुखदायी अवस्था रहेको बताए ।
मधेश प्रदेशका खेलकुद तथा सामाज कल्याण मन्त्रालयका नि.सचिव चुडामणि फुयाँलले मधेशमा शिक्षा कमजोर नभएको र शिक्षित नयाँ पुस्ता आएपछि महिला हिंसाका समस्या पनि नियन्त्रण हुदैँ जाने आशा व्यक्त गरे । मधेशका शिक्षित वाँकी युवाहरु पनि मधेश बाहिर बस्ने गरेकाले प्रदेशमा हिंसा देखिएको भन्दै उनले यस्ता कार्यक्रमले चेतना जगाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै युएन वमनका राष्ट्रिय प्रतिनिधी प्याट्रिसिया फर्नान्डेज–पचेकोले प्रस्तुत कार्यक्रम मधेस प्रदेश सरकार र स्थानीय सरकारहरूसँग संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनको घनिष्ठ सहकार्यको लागि बलियो आधारको रूपमा काम गर्ने आशा व्यक्त गरिन । यस्तै युरोपियन युनियनका डेप्युटी हेड अफ कोअपरेसन, ईलोईजा आस्टुडिलोले महिला सशक्तिकरणको लागी लामो समय लाग्ने हुनाले आजदेखि नै सबै मिलेर यसमा लाग्नुपर्ने धारणा राखिन् । उनले मधेशकी महिलाहरु अवसर पाएपनि अनपढ रहेकाले केहि नजान्ने कुरा अफवाह मात्र रहेको बताईन ।
जनप्रतिनिधी सहितका पहुँचमा पुगेकी महिलाहरु स्थानिय समस्याका विषयमा पुरुष सरह नै जानकार रहेको बताउदै उनले अगाडि बढन आग्रह गरिन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत करूणा आचार्य, मधेश प्रदेशका सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू र मधेश प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधीको सहभागिता रहेको परियोजना शुभारम्भ कार्यक्रमलाई सबैले स्वागत गर्दे उक्त कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सशक्त महिला समृद्ध नेपाल कार्यक्रम मधेश प्रदेशको जनकपुरधाम उप–महानगरपालिका, नवराजपुर गाउँपालिका, सिराहा नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नगराईन नगरपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, वीरगंज महानगरपालिका, आदर्श कोतवाल गाउँपालिका गरि १२ वटा स्थानीय तहहरूमा सञ्चालन हुनेछ ।

लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा हानिकारक सामाजिक मूल्य मान्यता परिवर्तनमा पुरुष सहभागिता, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरण र मूल्य शृङ्खला प्रवर्धन र लैङ्गिक उत्तरदायी शासन तथा महिला प्रतिनिधिहरूको नेतृत्व विकास नै कार्यक्रमको मुख्य तीन प्राथमिकताहरू रहेका छन् । युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घीय निकाय स्रोतका अनुसार यो कार्यक्रम मधेश प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेश समेत गरी देशका जम्मा ३२ वटा स्थानीय तहमा चार वर्षका लागि सञ्चालन गरिने छ ।