एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १४ :
एचआई संक्रमितलाई रोजगार, शिक्षा र नागरिकताका लागि छुट्टै कानून ल्याउनुपर्ने माग गरिएको छ ।
विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीवार जनकपुरधाममा राष्ट्रिय एचआईभी तथा एड्स महासंघद्वारा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा कार्यक्रममा सहभागी एचआईभी संक्रमितहरुले परिवार र समाजद्वारा अपहेलित हुने गरेको कारण कसैले परिवार वा समाजबाट सनाख्त नगर्दा आफूहरुलाई नागरिकताविहिन भएर बस्नु परेको पीडा सुनाए ।
कार्यक्रममा सहभागी राधा (नाम परिवर्तित) भन्ने एचआईभी संक्रमित महिलाले आफ्नो श्रीमानको निधनपछि नागरिकता बनाउन नपाएको पीडा सुनाईन् । उनले भनिन् श्रीमानबाट आफूपनि संक्रमित भए । विहेको एक वर्ष नबित्दै श्रीमानको निधन भयो । उनको निधनपछि आफूमा पनि एचआईभी पुष्टि भएपछि ससुराली पक्षले घर निकाला गरिदियो । श्रीमान नभएको कारण ससुराली पक्षबाट कसैले पनि नागरिकतामा अभिभाकत्वको जिम्मेवारी लिन नमानेपछि अहिलेसम्म नागरिकताविहिन नै छौं ।
नागरिकता आभावका कारण छोराको पनि जन्मदर्तामा निकै समस्या भयो । निकै गुहारपछि गाउँले समाजको सहयोगमा ससुराले छोराको जन्मदर्ता सहयोग गरिदियो । तर आफ्नो नागरिकता हालसम्म बन्न सकेको छैन । एचआईभी संक्रमित भएको कारण एक त कसैले जागिर दिदैन् । लुकिछिपी केही ठाउँमा जागिर पाएपनि नागरिकता आभावले बैंक खाता नहुँदा तलब नै नपाउने भएपछि काम छोड्नुपर्ने बाध्यता रहेको पीडा उनले सुनाईन ।
यो समस्या मिनाको मात्र नभई धनुषा जिल्लामा करीब ३०÷३५ जना एचआईभी संक्रमित महिलाहरु यस्ता समस्या भोगिरहेका छन । नागरिकता भावमा तिनीहरुलाई मात्रै समस्या नभई तिनका सन्तानलाई समेत जन्मदर्ता र नागरिकता बन्न नसक्दा भविष्य अन्धकार हुन गएको कार्यक्रममा सहभागीहरुले जनाए ।
एचआईभी संक्रमितहरु नागरिकता समस्या मात्र नभई रोजगार, शिक्षा र समाजमा सम्मानका साथ बस्न पाउने समस्या समेत भोग्दै आएका छन् । जनकपुरधाम उपमहानगरकै एक संक्रमितले पीडा पोख्दै भने एचआईभी संक्रमित सुन्ने बितिकै चौक चौराहा मात्र होइन गाउँ समाजका व्यक्ति मात्र होइन परिवार समेत अपहेलना गर्दै आएको छ । आफूहरुलाई अछुत सम्झेर अन्य व्यक्ति सरह व्यवहार गर्दैनन् अपहेलित भएर बांच्नुपर्ने अवस्था रहेको उनले भने ।
अन्तरक्रियामा सहभागीहरुले सरकारले आफूलाई शिक्षा, रोजगार र समाजमा सम्मान सहित बाच्न पाउनुपर्ने र नागरिकताका लागि छुटै कानूनको व्यवस्था गर्नुपर्ने माग गरे । सहभागी मध्येका एक संक्रमितले राज्यले संक्रमण रोकथामका लागि औषधि खाईरहेका छौं । तर रोजगार आभावमा बाच्नका लागि पौष्टिक खानाको आभाव खेप्दै आएको छु । रोजगारको व्यवस्था नभएसम्म आफूहरुको जिविकोपार्जनका लागि भत्ताको व्यवस्था गर्नुपर्ने माग गरे ।
संघीय सरकारको सम्बन्धित संस्था र प्रदेश सरकारबाट एक÷एक हजार गरी दुई हजार रुपैयाको दरले १७ वर्षभन्दा मुनि उमेर समूहका एचआईभी संक्रमितलाई भत्ता दिदैं आएको थियो । तर चालु आर्थिक वर्षमा प्रदेश सरकारले सो भत्ता बन्द गरेको छन् । भत्ता वापतको रकम प्रदेश सरकारले एचआईभी संक्रमण रोकथामको प्रचार प्रसारमा हालेका छन् ।
एचआईभी संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ । प्राप्त जानकारी अनुसार धनुषा जिल्ला गत आर्थिक वर्ष २०७९÷०८० मा १०२ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय धनुषाका रामबाबु यादवले गत आर्थिक वर्षमा काउन्सेलिंगको माध्यमबाट फेला परेका संक्रमित मध्ये १५ वर्ष मुनिका ८ जना, १५—४९ उमेरका ८४ जना र ४९ वर्षमाथिका १२ जना रहेको जानकारी दिए । उनका अनुसार यसमध्ये ५५ जना महिला र ५१ जना पुरुष रहेका छन् ।
कार्यक्रममा यादवले भने एचआईभी संक्रमित हुनु भनेको अभिशाप होइन कसैको गलतीको परिणामको बाध्यात्मकारी अवस्था हो । यसमा हेला गर्नु गलत हो । हेर्दैमा वा नजिक बस्दैमा कसैलाई सर्दैन, जबसम्म शारिरीक सम्पर्क वा खूनबाट शरीरको भित्री भागमा सम्पर्क नभएसम्म सर्दैन । त्यसमा डराएर हेला गर्नु गलत हो । सम्पर्कमा आएर नियमित औषधि लिइरहेकाबाट अरुमा सर्ने नभएकाले लुकेर बसेका संक्रमित सम्पर्कमा स्वास्थ्य कार्यलयमा सम्पर्क गर्न आग्रह गर्दै संक्रमितलाई हेला होइनमा सम्मान गर्न भने ।