एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १४ :
श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट ११ हजार स्क्वायर फिटको बनाउन लागिएको भगवान श्रीराम जानकीको प्रतिमा तयारी थालिएको छ ।
विवाह पञ्चमी महोत्सवको मुख्य आर्कषणको रुपमा जनकपुरधाम उपमहानगरपालिकाद्वारा विश्व रेकर्ड कायम गर्ने गरी रंगभूमि मैदानमा ७० क्विन्टल अनाजबाट ११ हजार स्कवायर फिट ऐतिहासिक भगवान श्रीराम जानकीको प्रतिमा निर्माण गरिनेछ ।
बिहीवार जनकपुरधाममा जनकपुरधाम उपहानगरपालिकाको अध्यक्षताको बसेको बैठकबाट तयारी स्वरुप पहिलो चरणमा निर्माण समिति तथा सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति र उमहानगरपालिकाका मेयर मनोज साहको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्ने बैठकबाट निर्णय गएिको हो ।
विवाह महोत्सवको प्रमुख कार्यक्रम स्वयंवर हुने स्थल रंगभुमी मैदानमा करीब तीन कट्ठा क्षेत्रफलमा श्रीराम जानकी प्रतिमा निर्माण गरिने यसअघि नै उपमहानगरपालिकाले निर्णय गरिसकेको छ । यसअघि भारतको अयोध्या (भगवान रामको जन्मभूमि) मा ९ हजार स्वाइयर फिटको प्रतिमा बनाइएको थियो । जुन प्रतिमाले विश्व रेकर्ड बन्यो । तर जनकपुरमा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड बन्ने मेयर साहले बताए ।
अनाजबाट भगवान श्रीराम जानकीको प्रतिमा भारत मध्य प्रदेश सतिश गुर्जरले निर्माण गर्नेछन् । उनको टिम जनकपुरधाम आइपुगेको छ । यसवर्ष अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी कार्यक्रम अन्य वर्ष झै मनाइनेछ ।
रंगभूमि मैदानमा अन्नबाट ११ हजार स्कावयर फिटको राम–जानकीको प्रतिमा बनाउने निर्णयप्रति सामाजिक सञ्जालमा देशमा भोकमरी रहेको अवस्था मूर्ति बनाउने नाममा खेर फाल्नु कार्य गलत रहेको भनी व्यापक विरोध हुँदै आएको छ ।