एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ११ :
राष्ट्रिय शक्ति नेपालले संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेको छ । जनकपुरधाममा संघियता खारेजीका साथै राजसंस्था सहितको हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय शक्ति नेपालले प्रदर्शन गरेको हो । जनकपुरधामको रंगभूमि मैदान १२ बिघाबाट संवैधानिक राज संस्था वहाली गरौँ, वैदिक सनातन हिन्दु राज्य कायम गरौँ, संघियता खारेज गरौँ लगायतको नारा लगाउँदै रैली सहित नगरको विभिन्न भागमा परिक्रमा गरेको हो ।
जनकपुरधामको जनक चोकमा कोणसभामा परिणत भएको रैलीलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केसरबहादुर विष्टले नेपालमा संघियताको कुनै काम नरहेकाले संघियता खारेजी गर्न माग गरे । उनले नेपाललाई एकत्रित बनाउनका लागि संघिय साशण प्रणाली हटाउनु आवश्यक रहेको बताए ।
विष्टले वर्तमान संविधान नेपालीहरुको हितको रक्षा नगर्ने भएकाले यो संविधान खारेजी गर्ने तर्फ अग्रसर हुनु आवश्यक रहेको । उनले यो संविधान च्यात्ने अभियान समेत ल्याइने जानकारी दिए ।
कोणसभामा पूर्व सांसद गंगा चौधरीले नेपालको पहिचानमाथी धावा बोल्नकै लागि हिन्दु धर्म संस्कृतिमाथी दिनप्रति दिन हमला भईरहेको आरोप लगाइन । उनले कुनै दलमा आवद्ध रहेपनि देशको रक्षाका लागि एकवद्ध हुन सबैसंग अपिल गरिन् । राष्ट्रहितलाई ध्यानमा राखेर नेपालमा संवैधानिक राजसंस्था सहित हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा उनले जोड दिइन् ।
रैलीमा नेपालका लागि नेपाली पार्टिका केन्द्रिय अध्यक्ष संतोष महाराज, राष्ट्रिय प्रजातन्त्र पार्टिको रोयल टाइगर फोर्सका सोमनाथ यादव, राष्ट्रवादी नागरिक समाज प्रधान कार्यालयका प्रकाशजंग राणा लगायतको सहभागिता रहेको थियो ।