एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १ : मिथिलाञ्चलमा प्राथमिकताका साथ मनाइने महान लोकपर्व छठको पहिलो दिन (नहायखाय) जनकपुरधामको गंगासागर घाटमा टेन्ट तल जनकपुरधामका विभिन्न क्षेत्रका अगुवाहरु जम्मा भए । पर्व तिहारको समय रहेकाले उल्लेख सहभागिता जुटन नसकेपनि जनकपुरधाममा बैचारिक बहसमा सक्रिय रहनेहरुका बिच मधेश मानसको आयोजनामा विभिन्न विषयमा बहस भएको छ ।
पहिलो सत्रमा २५ वर्ष पछिको जनकपुरधाम बारे चर्चा भयो । सत्रका वक्ताहरु मध्ये जनकपुरधामका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधामलाई नयाँ रिङ्गरोडमा समेटेर जनकपुरधामबाट अयोध्या सम्मको रेलसेवा, राजर्षिजनक बिश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र साँस लिन वृक्षारोपण सहितका विविध विषयको कल्पना सुनाए ।
जनकपुरधामका उपप्रमुख किशोरी साहले नगरप्रमुखको सपनामा समर्थन जनाउदै जनकपुरधाममा सुधार भएको र अझै गर्नुपर्ने काममा सबैको साथ सहयोग आवश्यक रहेको बताए । प्रदेशकी मन्त्री सुरिता साहले प्रदेशको सहयोगमा संघिय सरकार बाधक रहेको भन्दै अझै पनि केन्द्रिकृत सोँच हावी रहेकाले चाहेको जस्तो विकास गर्न नसकिएको बताए ।

सत्रका अर्का वक्ता प्रा.डा. भोगेन्द्र झाले अतित बिनाको योजना कामै लाग्ने नसक्ने भन्दै योजना बनाउँदा अतितलाई नबिर्सन आग्रह गरे । उनले जनकपुरधामको विकास गर्दा फराकिलो सोँचका साथ दिर्घकालिन मजबुत योजना बनाउनु पर्ने बताए । डा. झाले जनकपुरधाममा फराकिलो पारिएको सडक र बनाइएका ढलहरु दिर्घकालिन रुपमा मजबुत नरहेको बताए । उनले जनकपुरधामको अतित शिक्षा समेत रहेको र अहिलेको शिक्षा बबार्द भएको भन्दै सबै सरकार सोच्नुपर्ने बताए ।
दोस्रो सत्र : मधेशको निराशा भित्र लुकेको आशा
यस सत्रका वक्ताहरु दुई समुहमा विभाजित देखिए । पुर्वमन्त्री ज्ञानेन्द्र कुमार यादव संघियता मधेशका लागि अपरिहार्य रहेको र कुनै बिकल्प नरहेको तर्क गर्दा मधेश आन्दोलनके अगुवा विभा ठाकुर र सरोज कुमार मिश्रले त्यसको प्रतिवाद गर्दै जनताले सपनामा देखेको संघियता र अहिलेको संघियता फरक रहेको बताउदै व्यापक असन्तुष्टि व्यक्त गरे ।
यद्यपि पुर्व मन्त्री यादवले संघियता पक्ष शक्तिहरुले पनि संघियता कार्यान्वयन भन्दा अन्य विवादमा फँसेकाले समस्या र असन्तुष्टि देखिएको बताए । ठाकुर र मिश्रले मधेश आन्दोलनका अगुवा युवाहरुको हालत विजोग हुँदा समेत मधेश केन्द्रित दलहरुलाई कुनै प्रभाव नपर्दा संघियता प्रतिको आकर्षण घटदै गएको र संघियता पक्षधर आवाज बुलन्द हुन नसकेको बताए ।
राजनितिक बिश्लेषक राकेश मिश्रले संविधान निर्माणका क्रममा संघियता पक्षधर मुख्य मधेश केन्द्रित दलहरु कमजोरी गरेको बताए । संविधानमा संघियताको हितका लागि कुनै पनि बुँदा नरहेको अवस्थामा लाइन लागेर संविधान घोषणामा मत खसालेका मधेशी नेताहरुले प्रदिप गिरी र प्रभु साह जस्तो साहस देखाउन नसक्दा गल्ती भएको उनले बताए ।
तेस्रो सत्रमा विचारक सिके लाल
तेस्रो सत्रका एकल वक्ता विचारक सिके लालले छठ पर्वको समाजिक तथा सांस्कृतिक महिमाको बखान गरे । छठ पर्वमा प्रकृतीको पुजा, प्रयोग र पद्वतिका साथै छठले बसाएको समाजिक सदभाव, एकता र अनेकानेक विशेषताको विषयमा बोलेका लाल छठबाट वर्तमान राजनितिक दलका नेताहरु पाठ सिकेर राजनितिमा पनि सुधान गर्नुपर्ने सुझाव दिए ।
परम्परागत छठले विभेदको अन्त्य गरिसक्दा पनि वर्तमान राजनितिक दल र सरकारले किन गर्न सकिरहेको छैन ? भाव सहितको उनको मन्तब्यले धेरै थोक दर्शाइरहेको थियो । छठ पर्वमा पुरोहित, मन्त्र कुनै पनि सहजकर्ता र समन्वय नरहेको भन्दै लालले यस पर्वमा वर्तालु र प्रकृती सुर्य देवता र छठी मईयाको बिचमा सिधा संवाद हुने पर्व रहेको बताए । छठमा मन्त्र हुदैन उनले भने, ‘लोकगित र जनहित हुने पर्व हो यो ।’

समाजमा ठुला र साना जातको बर्गीकरण रहेको अवस्थामा छठले सबैलाई एक ढिक्का पारेकाले यो पर्व बर्ण र लिङ्ग बिमुख्त पर्व पनि रहेको उनले बताए । उनले भने, ‘पहिला आफुलाई ठुला जात भन्नेले छठ गर्थेन, पछि बग्दै गरेको नदीमा गर्न थाले र पानीको बहाव अनुसार स्थान व्यवस्थापन गर्थे पछि पोखरीमा पनि छठ हुन थालेपनि विभेद आफै समाप्त भयो र छठ विस्तारित पर्व बन्यो ।’ तिनै सत्रको सहजीकरण मधेश मानसका अगुवाहरु क्रमश मनोज साह, नविन झा र अनुज मिश्रले गरेका थिए ।