एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३० :
नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले गठबन्धन सरकार पूर्णं रुपमा असफल भई सकेको टिप्पणी गरेका छन् । एमाले धनुषा २को क्षेत्रिय कमिटीले छठ पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले सरकारको उद्देश्य र दिशा नै नरहेको बताए ।
‘यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ, यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन, चाहे त्यो विकासको क्षेत्र होस, वा स्वास्थ्य क्षेत्र होस, निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तवरले अघि बढेको छैन’, उनले भने, ‘यो सरकार असफल सरकारको रुपमा स्थापित भएको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बझेका छन् ।’
पूर्वमन्त्री महासेठ वर्तमान सरकार भ्रष्टाचारीहरुलाई संरक्षण दिने सरकार रहेको आरोप लगाए । उनले बर्तमान सरकारको नेतृत्व गरिरहेका प्रचण्ड र गृहमन्त्री स्वयं भ्रष्टाचारीहरुको संरक्षणमा लागेको बताए । उनले यसै सरकारको समयमा सयौँ किलो सुन तस्करी भएपनि त्यसको सत्यतथ्य बाहिर ल्याउन सरकार असफल भएको दावी गरे ।
त्यस्तै एमालको पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री जुली महतोले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको बताइन् । उनले अहिले व्याप्त महँगी, बेरोजगारी, मुलुकको खस्कदो अर्थतन्त्र लगायतको समस्या समाधानका लागि एमाले नेतृत्वकै सरकार आवश्यक रहेको बताइन् ।
प्रदेशसभा सदस्य लखन दासले एमाले कुनै जाति विशेषको पार्टी नभएर गरिब निमुखा तथा मजदुर वर्गको हकहितका लागि लड्ने पार्टी रहेको दावी गरे । उनले एमाले मात्रै गरिब निमुखा तथा मजदुरहरुका लागि लडिरह्ने उनको भनाई थियो ।
एमाले धनुषा २को क्षेत्रिय अध्यक्ष जामुन सण यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, विदेह नगरपालिकाका नगप्रमुख बेचन दास लगायतले बोलेका थिए ।