एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३० : मिथिलाञ्चल लगायत तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने महान छठपर्वको तयारी तिव्र रुपमा भइरहेको छ । अन्नकुट तथा गोवर्धन पर्व सम्पन्न भएको भोलीपल्ट देखि नै मिथिलाञ्चलमा पारिवारीक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी शुरु हुन्छ ।
छठ पर्वको लागि अहिले जनकपुरधामका सरोबर तथा पोखरीहरुलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो ।
आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई नवदुल्ही झै सजाइदै छ ।

जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरु छठ पूजा गर्ने गर्छन् । जनकपुरधामका साथै तराई मधेसका गाउँगाउँमा रहेका पोखरीहरुलाई समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ । पोखरीका घाटहरु सफाई गर्दै पखाल्ने, टेन्टको सजावट गर्ने, झिलिमिली बत्तीहरु जडान गर्ने कार्य धमाधम भइरहेको छ ।
यस वर्ष शुक्रबारबाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन शुक्रबार नहाय खाय, शनिबार खरना, आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने छ भने सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर घर देवता भएको कोठामा चढाई चन्द्रमालाई पुजा गर्दै प्रसाद ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री सरोवर तथा पोखरीका घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।