एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २९ : मिथिलाञ्चल क्षेत्रमा भैयादुज पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ अर्थात् अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शुक्रबार नै मनाइँदा छ दिनको भएको छ ।
भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ । नेपालका अन्य क्षेत्रमा भाइटिका मनाएजस्तै मैथिलहरुले मनाउने भैयादुज पर्वको पौराणिक कथावस्तु र विधी एउटै भए पनि यसलाई फरक नामले चिनिन्छ ।

दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखिदिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ ।
मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।
गोवर्धन पूजा पनि आजै

गोवर्धन पूजा मिथिलाञ्चलवासी हिन्दुहरूको एउटा पर्व हो । हिन्दू पौराणिक ग्रन्थ अनुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । धार्मिक विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्र को पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए ।
कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन् । गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन गोरू को पनि पूजा गरिन्छ । यो तिहारको तेस्रोरचौथो दिन यो चाड पर्दछ । यस पर्वलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा पनि भनिन्छ ।