एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २३ :
मधेश प्रदेशलाई “पूर्ण सुरक्षित मातृत्व प्रदेश”, पूर्णखोप युक्त प्रदेश” कुपोषणमुक्त प्रदेश बनाउन प्रदेश सरकार अभियान संचालन गर्ने भएको छ ।
बिहीवार स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०७९÷८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा सरोकारवालाहरुले यस्तो जनाएको हो ।
कार्यक्रममा निर्देशनालयका निर्देशक राजीव झाले प्रदेशलाई “पूर्ण सुरक्षित मातृत्व प्रदेश”, पूर्णखोप युक्त प्रदेश” कुपोषणमुक्त प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेकाले यसलाई अभियानकै रुपमा संचालन गर्ने बताउनु भयो ।
स्वास्थ्य अवस्थामा धेरै सुधार आएपनि अझैपनि धेरै काम गर्न बाँकी रहेको छ, जसको हामी कार्यक्रममा समिक्षा गर्नेछौं । विद्यमान समस्या सुधारका लागि स्थानीय तहको देखिएका समस्याको तथ्यांक संकलन गरी सोही अनुसार योजना तयार पारी अघि बढनेछौं उहाँले जानकारी दिनु भयो ।
सो कार्यक्रममा गत आर्थिक वर्षमा प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा भएका कामहरु बारेमा समिक्षा गरिएको छ । तीन दिनसम्म चल्ने सो समिक्षा गोष्ठीमा स्थानीय तहका स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारी अस्पतालहरुमा विरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरुमा परिक्षण गराउदा लाग्ने शुल्कमा ९०% प्रतिशत छुट प्रदान गर्ने, बाल अस्पताल संचालनका लागि संघीय सरकारसँग पहल गर्ने लगायतका योजनाहरु प्रस्ताव गरिएको छ ।