एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २१ : हतियार देखाएर जबरजस्ती नेपाली सरकारी कागजमा औठा छाप गराएको भन्दै धनुषाका एक बृद्ध न्याय मांग गरेका छन् । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ मणिपट्टीका ६३ वर्षिय रामआशिष दासले गत बैशाख २५ गते नकावधारी समूहले अपहरण गरी कागज गराएको भन्दै गत ६ महिनादेखि न्यायका लागि भौतारिदै आईरहेको गुनासो गरेका हुन् ।
प्रहरीले समेत आफ्नो जाहेरी लिन नमानेपछि दासले संचारकर्मीहरुलाई गुहार्दै न्यायका लागि अपिल गरेका हुन् । रामआशिष दासका अनुसार उनलाई अपराधिक समूहले गत बैशाख–२५गते अपहरण गरे । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पूलचोकमा किराना पसल चलाउँदै आएका पीडि़त दास पसल बन्द गरी राति ९ बजे घर जाने बेलामा अपहरणमा परे । २०–२५ जनाको समूहमा आएका अपहरणकारीहरुले नेपाली कागजमा सही छाप गराएको दासको भनाई छ ।
हुलाक मार्फ जिल्ला प्रहरी कार्यालय धनुषा लगायतका निकायमा दासले दिएको जाहेरीमा अपहरणमा हँसपुर नगरपालिका वडा नम्बर १ पौडेश्वर निवासी रामविलाश दास, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास संलग्न रहेको देखिन्छ । अपहरणमा परेको भोली पल्ट कपिलेश्वर प्रहरी पोष्टमा दासले उजुरी दिए । त्यहाँ कुनै सुनुवाई नभएपछि वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटना बारे निवेदन दर्ता गराउन पुगेपनि निवेदन लिन नमानेको दासको आरोप छ ।
गत श्रावन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकील कार्यालय मार्फत उनको जाहेरी हुलाकको पत्र मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरिएको दासले बताए । जाहेरी दर्ता भएपनि प्रहरीले भने घटनाको अनुसन्धान गर्न आलटाल गरिरहेको आरोप पीडितको छ ।
उता पीडक भनिएका रामविलाशले महोत्तरी वडा नम्बर ५का ४२ वर्षीय अशोक कुमार ठाकुरले रामआशिष दासलाई २० लाख रुपैयाँ ऋण दिएको तमसुकको कागज सहित जिल्ला अदालत धनुषा पुगेका छन् । यद्यपि दासले आफू कहिल्यै कसैसंग ऋण नलिएको दावी गरे । उनका अनुसार तमसुकको कागज पनि आफूले अदालतबाट प्राप्त गरेको र आफू बिरुद्ध जिल्ला अदालतमा ऋण लिएर पैसा नतिरेको सम्बन्धि मुद्दाको समन सम्म नपुगेको बताए ।