एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २० : मधेश प्रदेशको शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुले साक्षर प्रदेश बनाउन व्यापक सुधार आवश्यक रहेको भन्दै विभिन्न प्रतिबद्धता जनाएका छन् । सोमवार मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी संघ, प्रदेश, स्थानीय तह र सरोकारवालाहरुबीच वृहत शिक्षा सम्मेलनमा सहभागी सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मधेश प्रदेशको शैक्षिक अवस्था निकै कमजोर कर्णाली प्रदेशको हाराहारीमा रहेकाले साक्षर प्रदेश बनाउन संघ, प्रदेश र स्थानीय तह तीनवटै निकाय गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा मन्त्री यादवले प्रदेशलाई साक्षर प्रदेश बनाउन प्रदेश सरकारले निती तथा कार्यक्रममा समेत समेटेको र मन्त्रालयले बजेट समेत छुटयाएकाले यसप्रति सरोकारवाला निकायहरु पनि गम्भीर हुन जरुरी रहेको भने । प्रदेशलाई साक्षर बनाउन दुई चरणमा कार्यक्रम संचालन गरिने जानकारी दिदैं उनले प्रदेशको ऐन र नियमावली पनि चाँडै ल्याउने प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा शिक्षा विकास निर्देशनालयका चूडामणि फुयाँलले प्रदेशलाई साक्षर बनाउन सबभन्दा महत्वपूर्ण भूमिका स्थानीय तहको रहेको कुरामा जोड दिए । यस्तै नगरपालिका महासंघ मधेश प्रदेशका अध्यक्ष प्रदीप यादवले प्रदेशलाई साक्षर बनाउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहेपनि कानून आभावले केही गर्न नसकिएको बताए ।
सो कार्यक्रमबाट चालू आर्थिक वर्षभित्रै प्रदेशलाई साक्षर प्रदेश बनाउने सहितका १० बुँदे प्रतिबद्धता पत्रमा समेत कार्यक्रममा सहभागी स्थानीयतहका जनप्रतिनिधि, कर्मचारी र प्रदेशका मन्त्री तथा सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् । शिक्षाविद्वहरु समेतको उपस्थिती रहेको कार्यक्रममा विभिन्न पालिकाहरुले समेत आफनो शैक्षिक गतिविधी र क्रियाकलाप सहितको प्रगती विवरण प्रस्तुत गरेका थिए ।