एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १८ : धनुषाको सबैला नगरपालिका वडा नं. १२ स्थित द्धारिका आधारभुत विद्यालय, रधुनाथपुरमा शुक्रबार राति चोरी भई विद्यालयका सबै प्राविधिक सरसमानहरु चोरी भएको छ । विद्यालयमा राति कम्प्युटरसहितका सामानहरु चोरी भएको हो ।
विद्यालयबाट चार थान कम्प्युटर सेट, एकथान अल ईन वन कम्प्युटर सेट, ३२ इन्चको एकथान एलईडी, एकथान साउण्ड बक्स र दुई थान माइक चोरी भएको विद्यालयका प्राधानाध्यापक रामशंकर यादवले जानकारी दिएका छन् । उनका अनुसार चोरहरुले ६२ इन्चको स्मार्ट बोर्ड लग्न नसक्दा पूर्ण रुपमा क्षतिग्रस्त बनाइदिएका छन् । लग्न नसकेको सरसमान प्रयोग नहुने गरि क्षतिग्रस्त बनाउनुले पनि चोरी नियोजित पनि भएको हुन सक्ने देखिन्छ । पछिल्लो समय विद्यालयमा शिक्षण, अनुशासन, अतिरिक्त क्रियाकलाप सहितका गतिविधीहरुमा सुधार भई स्थानियले प्रशंसा गर्न थालेका थिए ।
विद्यालयको मुख्य प्रवेशद्वारा बाट नभई पर्खालबाट चढेर भित्र प्रवेश गरेर चोरी भएको देखिएको छ । । उनीहरुले कम्प्युटर राखेको कक्षाकोठाको ताल्चा काटेर चोरी गरेको प्रअ यादवले जनाए । चोरी भएको विद्यालय वडा नं.१२ को वडा कार्यालय, मुख्य बजारको प्राङ्गणमै रहेको छ ।
चोरहरु विद्यालयको कोठाहरुमै रक्सी, नास्ता र गुटखा खाएको पनि देखिएको प्रमाणहरु भेटिएको छ । चोरले टेबलमा राखिएको प्रअको एक प्रमाणपत्रमा गुटखा खाएर थुक्ने काम समेत गरेको बताइएको छ । विद्यालयमा प्रत्येक शनिवार सञ्चालन हुने बालबिकास कक्षा सञ्चालनको लागि कार्यालय सहयोगी पुगेपछि चोरी भएको घटना सार्वजनिक भएको छ ।
प्रअ यादवले भने, ‘जानकारी पाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित प्रह्री प्रशासनलाई जानकारी गराएको छु ।’ कम्प्युटरको बारेमा जानकारी भएको चोरले मात्रै कम्प्युटर चोरी गरेको हुन सक्ने प्रअ यादवको शंका छ । उनले व्यक्तिगत रिसिबीका कारण विद्यालयमा चोरी भएको बताए । उनका अनुसार विद्यार्थीलाई प्राविधिक ज्ञानका लागि प्रयोग भइरहेको नयाँ कम्प्युटरहरु चोरले लगेपनि पुरानो कम्प्युटरहरु नलगेको बताए ।
रघुनाथपुर बजारको मुख्य स्थानमै रहेको विद्यालयमा चोरी हुनु दुर्भाग्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश राउत गडेरीले बताए । उनले बजारमा चारैतिर सिसिटिभी क्यामरा जडान भएकोले सो क्यामराको फुटेजलाई आधार बनाइ चोर पत्ता लगाइदिन स्थानीय प्रशासनसँग आग्रह गरेको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।