एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ :
अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा मधेश प्रदेशमा किशोरीहरुको मनोबल उच्च बनाउन विभिन्न पदमा पदासिन गराउने अभियानले पछिल्लो समय चर्चा पाईरहेको छ । यस अघि दुई किशोरीलाई अलग अलग मन्त्रालयमा प्रतिकात्मक रुपमा पदासिन गराई सकेको छ । प्लान इन्टरनेशनलले संचालन गर्दै आईरहेको टेक अभर कार्यक्रम अन्तर्गत १७ वर्षिया किशोरी विभाकुमारी यादवलाई प्रतिकात्मक रुपमा एक दिनका लागि मधेसको गृह तथा सञ्चार मन्त्रालयको पद हस्तान्तरण गरिएको छ । उनलाई मधेशका गृह तथा संचार मन्त्री मोहम्मद समिमले पद हस्तान्तरण गरेका थिए ।
धनुषाको विदेह नगरपालिकास्थित जनता नमूना माध्यमिक विद्यालय गिद्धा बेलापट्टीमा कक्षा १२मा अध्ययनरत छात्रा यादवलाई आफ्नो कुर्सीमा आसिन गराई मन्त्री समिमले स्वागत गरेका थिए ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्रीको पदभार ग्रहण गरेकी किशोरी छात्रा विभा कुमारी यादवले मधेश प्रदेशमा हुने गरेको बालविवाह, महिलाहिंसा तथा लागु पदार्थको दुव्र्यसन रोक्नका लागि प्रभावकारी भूमिका खेल्न सरोकारवालाको ध्यानाकर्षण गराएकी थिइन् ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री मोहम्मद समिमले वालिका माथि हुने गरेको हिंसाको प्रभावकारी नियन्त्रण तथा लागु औषध कारोबार निर्मूल पार्ने गरि प्रदेश सरकार लागि परेको दावी गरे । उनले मधेश प्रदेशमा विगत केही समय यता हत्या हिंसाको घटनामा वृद्धि भएको स्वीकार गर्दै नियन्त्रणकालागि सबै सुरक्षा निकायसँग प्रदेश सरकारले सहकार्य गरेर काम गरिरहेको जानकारी दिए ।
प्लान ईन्टरनेशनले अन्तर्राष्ट्रिय वालिका दिवसको अवसर पारेर विश्वका ७५ मुलुकमा विशिष्ट व्यक्तिहरूको पद बालिका तथा किशोरीहरूलाई हस्तान्तरण गराएर समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको सन्देश दिइरहेको प्लान ईन्टरनेशन नेपालका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले जानकारी दिए ।
नेपालमा प्लान ईन्टरनेशन नेपालले चार दशकभन्दा बढी समय देखि विकासको क्षेत्रमा काम गरेपनि पछिल्लो केही वर्ष देखि बालिका, किशोरी महिला सशक्तीकरणका लागि तीनै तहका सरकारसँग सहकार्य गरेर काम गर्दै आईरहेको छ ।