एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १६ :
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने गरी काम गरिरहेको दावी गरेका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेशनले आयोजना गरेको बालिका तथा किशोरी पद हस्तान्तरण कार्यक्रममा बोल्दै मधेश प्रदेशको स्वास्थ्यमा आमूल परिवर्तनको अनुभूति मधेशका जनताले माघ पछि देख्न सक्ने बताए ।
उनले प्रदेश सरकारले बालिका तथा किशोरीको स्वास्थ्य प्रति गम्भिर रहेको बताउँदै प्रदेशको सबै वडामा नर्स सहितको स्वास्थ्य चौकी स्थापना गर्ने अभियान तीव्र गतिमा अगाडी बढाइएको जानकारी दिए । ती स्वास्थ्य चौकीमा किशोरीलाई आवश्यक पर्ने सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध रहने उनको भनाई थियो ।
स्वास्थ्यमन्त्री सिंहले महिलाकालागि निःशुल्क पाठेघरको शल्यक्रिया शिविर प्रदेश भरि नै सञ्चालन हुने बताउँदै किशोरीलाई पाठेघरमा लाग्ने क्यान्सर रोगको रोकथामका लागि एचपीभि खोप सबै किशोरीलाई दिने पक्षमा रहेको बताए ।
उनले प्रदेश सरकार पत्इेक प्रादेशिक अस्पतालहरूलाई १ सय बेड तथा जनकपुरधामको प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा घोषणा गरेर भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडी बढाएको बताए ।
कार्यक्रममा बोल्दै प्लान ईन्टरनेशन नेपालका जनकपुरधाम स्थित कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले प्लान ईन्टरनेशनलले विश्व व्यापी रुपमा विश्वका ७५ देशमा समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको मान्यता अनुसार वालिका तथा किशोरीको मनोबल बढाउन पद हस्तान्तरण अभियान चलाइरहेको बताए ।
मन्त्री सिंहले धनुषाको कमला नगरपालिकामा रहेको सामुदायिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १४वर्षिया बालिका सरिता यादवलाई प्रतिकात्मक रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार हस्तान्तरण गरेका थिए ।