एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १६ : अहिले दिपावलीको आगमन हुदै गर्दा घर, पसल र गाँउ टोलको पनि सरसफाई मात्र होइन रंगरोगनको काम समेत धमाधम भइरहेको छ । यस्तै बेला सिमा सुरक्षाको जिम्मेवारीमा रहेको नेपाल सशस्त्र प्रहरी बलले सीमानाकाका सीमास्तम्भको पनि पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको छ ।
मधेश प्रदेशका आठवटै जिल्लाको भारतिय सिमानाकामा रहेको सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम सुरु गरिएको छ । मधेशका करिव चार हजार भन्दा बढि सीमास्तम्भहरु रहेकोमा अहिलेलाई १ हजार सिमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए ।
मधेशको आठवटै जिल्लामा आजबाट सो कार्य प्रारम्भ भएको जस्मा धनुषाका मात्र करिव १ सय ५० भन्दा माथि सीमास्तम्भको मर्मत र रंगरोगन हुने शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्लले बताए । धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नं. २ जटही नाका छेउको सिमा नं. २८५÷४ बाट सो कार्यको शुभारम्भ गरिएको हो ।

२०७७ साल श्रावन १९ गतेको मन्त्री परिषद निर्णयवाट सिमाका ति स्तम्भहरु मध्ये विजोरा नम्वरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको बताइएको छ । दुवै पक्षका सिमा सुरक्षाबलका प्रमुखहरुले यसले सिमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सदभाव र प्राविधिक जटिलताको समाधान हुने बताए ।

सीमावर्ती पालिकाका प्रमुखहरुले पनि काम ठिकै भएपनि सिमा सम्बन्धमा कुनै पनि निर्णय गर्दा मात्र काठमाण्डौं र दिल्लीका प्रतिनिधी दुवै देशको राजधानीमै बसेर कुनै ठोस निर्णय गर्न नहुने सुझाव दिन्छन । उनीहरुले सुरक्षाकर्मीको काम ठिकै भएपनि नितिगत कुराहरुमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने बताए ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव, सम्बन्धित वडा अध्यक्ष, शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्ल, नेपाल पत्रकार महासंघकी अध्यक्ष मनिका झा, जिल्ला प्रशासन कार्यालय धनुषा सहितका प्रतिनिधीहरुको उपस्थिती थियो । दुवै तर्फका सिमा सुरक्षाबलका जिल्ला प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । यस अघि कात्तिक १ गते सशस्त्र प्रहरी बल मधेश प्रदेश मुख्यालयले बर्दिवासमा मधेशका सिमावर्ती १ सय ४३ वडाका वडा अध्यक्षहरुलाई जम्मा गरि सिमासुरक्ष, समस्या, चुनौती र समाधान बारे सुझाव लिएका थिए ।