एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३ : धनुषाबाट मानव सेवा आश्रमद्वारा ९ जना सडकपेटीका मानवलाई उद्धार गरिएको छ । धनुषाको मिथिला नगरपालिकाबाट ३, क्षिरेश्वर नगरपालिकाबाट २ र जनकपुरधाम उपमहानगरपालिकाबाट ४ जनालाई उद्धार गरिएको मानव सेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले जानकारी दिए ।
बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरुको उद्धार गरि जनकपुरधामस्थित मानव सेवा आश्रममा राखिएको हो ।
धनुषामा सडक मानव उद्धारका लागि मानव सेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारी, जनकपुरधामका नगरप्रमुख मनोज साह, मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी उपरीक्षक विश्वराज खड्का, समाजसेवी पवन सिंहानिया, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको टोलिले उनीहरुको उद्धार गरेका हुन् ।
मानव सेवा आश्रमले पटक पटक सडकमा अलपत्र परेका मनवहरुको उद्धार गरि जनकपुरधाम तथा वीरगञ्जको आश्रममा राखेर स्याहार गर्दै आएको छ । यसअघि मानव सेवा आश्रमले कोशीमा ४६ जना र लहानमा ८ जना सडकपेटीका मानवलाई उद्धार गरेको हो ।
एता आश्रमको राष्ट्रिय उद्दार यात्रा २०८० मा सहभागिहरुलाई जनकपुरधाम उद्योग बाणिज्य संघले जनकपुरधाममा स्वागत गर्दै उनीहरुको कार्य प्रशंसनिय रहेको भन्दै सराहना गरेको छ ।