एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशका पत्रकारहरुलाई दक्ष बनाउनका लागि विभिन्न किशिमका तालिम गोष्ठीको आयोजना गर्नका लागि आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई निर्देशन दिनु भएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवम वरिष्ठ पत्रकार धर्मेन्द्र झाद्धरा लिखित पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत स्रोत पुस्तकको शुक्रबार मुख्यमन्त्री कार्यालयमा विमोचन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले पत्रकारहरु पनि अहिले दल र जातमा केन्द्रित हुन लागेको भन्दै पत्रकारले दल र जातिवाद भन्दा माथि उठनु पर्ने बताउनु भयो । उहाँले पत्रकारले सहि तथ्य बाहिर ल्याउनु पर्ने भन्दै दक्षताको अभावमा कहिले काँही नचाहेर पनि सहि लेखन नहुने गरेकोले पत्रकारहरुलाई दक्ष बनाउनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताउनु भयो ।
उहाँले पत्रकारले सहि सुचना प्रवाह गरेमा समाजमा त्यसको सकारात्मक असर पर्ने भएकोले सुचना संकलनको समयमा हतार गर्न नहुने बताउनु भयो । उहाँले प्रदेश सरकारको सन्दर्भमा पनि बास्तविक कुरा पत्रकारले बाहिर ल्याइ दिएको खण्डमा प्रदेश सरकारलाई काम गर्नमा सहजता हुने समेत बताउनु भयो ।
केही दिन अगाडी एउटा मिडियाले मुख्यमन्त्री र अर्थमन्त्रीको विचमा बोलचाल नभएको कारण कर्मचारीले तलव नपाएको समाचार प्रकाशन गरेको विषयमा आपती जनाँउदै मुख्यमन्त्री यादवले त्यस्तो कुनै कारण नरहेको बताउनु भयो । उहाँले भन्नुभयो — ‘मेरो नेतृत्वमा गठित मन्त्रिपरिषदको सदस्यले मेरो कुरा मान्नु पर्छ । नमाने म तुरुन्त कारवाही गरी वरखास्त गर्न सक्छु । चाहे मेरो सरकार रहोस नरहोस ।’
उहाँले संघको असहयोगको कारण सोचेर पनि चाहे अनुसारको काम गर्न नसकेको भन्दै प्रदेश सरकारले गरेका सकारात्मक कामको विषयमा जनतालाई जानकारी गराइदिनका लागि पत्रकारहरु सँग आग्रह गर्नु भयो । कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले प्राधिकरणले एक वर्षमा गरेका कामकाजको बारेमा जानकारी गराँउदै पत्रकार लाई दिदै आएको लोककल्याणकारी विज्ञापनको लागि वजेट उपलब्ध गराउनका लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा गृह,सञ्चार तथा कानून मन्त्री मोहम्मद समिम अनसारी, सहितका मधेश मन्त्री मण्डलका अन्य मन्त्रीहरुको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री र मन्त्रीहरुले सामुहिक रुपमा वरिष्ठ पत्रकार झाद्वारा लिखित सो पुस्तकको लोकापर्ण गरेका थिए ।