एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १ : सशस्त्र प्रहरीले मधेश प्रदेशका सिमावर्ती १ सय ४३ वडाका वडा अध्यक्षहरुसंग सिमाका विविध विषयमा छलफल गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासको आयोजना र सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अधिरिक्त महानिरिक्षक बंशीराज दाहालको समेत उपस्थितीमा भएको सीमावासीसंग सशस्त्र प्रहरी अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरुले सीमाका विभिन्न समस्याहरु उठान गरेका छन् ।
वडा अध्यक्षहरुले दुई देशको सम्बन्ध र खुल्ला सिमामा यसअघि सहज रुपमा हुने गरेको आवागमण र दैनिक उपभोग्य बस्तुको आयातमा भारतिय एसएसबी त कतै सशस्त्र प्रहरी बललेनै अनाहक अवरोध र केरकार गरेर दु:ख दिने काम गरिरहेको बताएका थिए । धनुषा मुखियापट्टी मुसरनिया गाँउपालिका वडा नं. २ का अध्यक्ष नरेश प्रसाद यादवले भारतिय एसएसबीले दु:ख दिएको भन्दै आफना जमिनमा पनि आवत जावतका लागि अस्थाई पुल बनाउँन समेत नदिएको गुनासो गरे ।

महोतरीको सम्सी गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष राकेश यादवले नेपाली भुमिमा रहेको धार्मिक मन्दिरमा समेत विकास निर्माणका काम गर्न नदिएपनि नेपाल सरकार र नेपालका प्रहरी प्रशासनले पनि केहि गर्न नसकेको बताए । उनले सीमाको नेपाली भुमिमा माटो ग्राभेलको काम गर्न समेत नदिइएको तर भारतिय भुमिमा कालोपत्रेको काम समेत भइसकेको बताए । उनले खुल्ला सीमाको दुरुपयोग गर्दै लागु औषधको ओसरपसार र दुव्र्सयनी बढदै गएको बताए ।
मठिहानी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझीले पछिल्लो समय सीमामा व्यापक समस्या देखिएको बताए । विवाह सहितका काममा भोजभतेरका लागि यस अघि सहज रुपमा खाद्यान्न सरसमान ल्याउन पाइनेमा अहिले अनावश्यक केरकार र अवरोध हुने गरेको उनको तर्क छ । सप्तरी देखि पर्सा सम्मका वडा अध्यक्षहरुको समस्या सुन्दा उस्तै थियो ।

केहि वडा अध्यक्षहरु भने खुल्ला सीमाको फाइदा उठाउदै देशका युवाहरु लागु औषध दुर्वसयनीमा फँसेर सीमावर्ती क्षेत्रमा विकृती मौलाएको, भारतिय व्यक्ति र साधन प्रयोग भई नेपालमा पनि चोरी, डकैती र अपराका विभिन्न घटनाहरु मौलाउन थालेको भन्दै सीमालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।
यद्यपि वडा अध्यक्षहरुले दुई देश बिचमा रहेको पौरानिक, धार्मिक र पारिवारिक सम्बन्धलाई भने कुनै असर पर्न नहुने गरि सीमा व्यवस्थित गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रहरी अधिरिक्त महानिरिक्षक बंशीराज दाहाल र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले सीमानाकालाई थप व्यवस्थित बनाउन केन्द्रिय सरकारका प्रतिनिधी सशस्त्र प्रहरी बलले मधेशको सीमानाकाका सबै स्थानिय सरकारका प्रतिनिधी वडा अध्यक्षहरुसंग छलफल गरि सरकारलाई परामर्श सहितको प्रतिवेदन बुझाउने बताए ।

उनीहरुले दुई देशको पुरानो सम्बन्धलाई असर नपर्ने गरि साथै अन्तराष्ट्रिय सीमा सम्बन्धि कानुनलाई लाई समेत आत्मसाथ गर्दै सीमाका रहेका समस्या समाधानका लागि परामर्श संकलन गर्न छलफलको आयोजना गरिएको बताए ।
सशस्त्र प्रहरी बलका अनुसार ९ हजार ६ सय ६१ वर्ग किलोमिटर क्षेत्रफल र ६१ लाख १४ हजार जनसंख्या रहेको मधेशमा ४ सय ६१ किलोमिटर लामो सीमा रहेकोमा सशस्त्र प्रहरी वलका स्थाई र अस्थाई गरि कुल १ सय ६० ईकाय सुरक्षाका लागि तैनाथ रहेको छ । कुल ५ हजार ५ सय सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालित रहेको मधेशमा १ सय ४३ वटा वडाले सीमानाकाको प्रतिनिधित्व गरिरहेको छ ।