एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० :
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरी विभिन्न आरोह अवरोह पार गर्दै नागरिकमा नेपाल प्रहरीले विश्वास जित्न सफल भएको बताएका छन् । नेपाल प्रहरीले नागरिकको मनमा जगाएको आशा भरोशालाई शंकाको घेरामा आउन नदिन आग्रह समेत गरे ।
मधेस प्रदेश कार्यालयले ६८औँ प्रहरी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री यादवले नागरिकमा रहेको नेपाल प्रहरीप्रतिको भरोसमा शंका उत्पन्न भए नेपाल प्रहरीकै साखमा दाग लाग्ने भएकाले शंकाको घेरामा आउन नदिन आग्रह गरे । उनले नेपाल प्रहरीले ६८ वर्षको इतिहासमा बाधा व्यवधानहरु पार गर्दैै आफनो दक्षता प्रमाणित गर्दै आईरहेको भन्दै नेपाल प्रहरीको प्रशंसा समेत गरे ।
मुख्यमन्त्री यादवले देश बनाउने जिम्मा हामी राजनीतिकर्मीहरुको मात्र नभई नेपाल प्रहरीको समेत रहेको बताउँदै निस्वार्थ भावले काम गरिरह्न आग्रह समेत गरे ।
कार्यक्रममा मधेस प्रदेशका गृह संचार तथा कानून मन्त्री मोहम्मद समिमले नेपाल प्रहरीले घामपानीको प्रवाह नगर्दै जनताको साथ हरेक पल रहँदै आएको भन्दै नेपाल प्रहरीको प्रशंसा गरे । उनले राम्रो काम गर्दा कहिलेकाही आक्षेप पनि लाग्न सक्ने तर्फ सचेत रहँदै खुट्टा नकमाइ काम गर्न आग्रह गरे । पछिल्लो समय प्रहरी मेरो साथी नाराले सार्थकता पाई रहेकोमा उहाँले खुशी समेत व्यक्त गरे ।
मधेस प्रदेश प्रहरीका प्रमुख जनक भट्टराईले विषम परस्थितिमा समेत आम नागरिकसंग सहकार्य गर्दै भौगोलिक अखण्डता तथा सार्वभौमिकता कायम राख्न नेपाल प्रहरी सदैव कृयाशिल रहेको प्रतिवद्धता व्यक्त गरे ।
६८औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रहरी सेवामा उत्कृष्ट योगदान दिने प्रहरीहरु, प्रहरी संगठनलाई सहयोग गर्ने संघ संस्थाहरु तथा परिक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रहरीका सन्तानहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।