एसपी रिपोर्टर
जनकपुरधाम, असोज २९ :
जनकपुरधामस्थित हुलाक कार्यालय धनुषाका कर्मचारीहरुले तलब भत्ता भुक्तानीको माग गर्दै कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका छन् ।
सोमवार कर्मचारीहरुले दशैं, चाड तिहारको समयमा पनि गत ३ महिनाको तलब नदिएको भन्दै कामकाज ठप्प गर्दै कार्यालयमा ताल्चा लगाएर कार्यालय परिसरमा धर्ना समेत दिएका छन् ।
उनीहरुले कार्यालय प्रमुख जयचन्द्र साहले मनमानी गर्दै आफ्नो सुख सुविधामा लागेर दशैं जस्ता पर्वमा पनि तीन महिनादेखि आफूहरुलाई तलब भत्ता नदिएको आरोप लगाउनु भयो । उनले भने दशैं जस्ता पर्वमा तलब नदिंदा निकै समस्या परेको छ ।
जिन्सी शाखाका कर्णले थप्दै भने कार्यालय प्रमुख साहले कार्यालयबाट सामान बुझेर सामान बुझेका भनी हस्ताक्षर नगरी आलटाल गर्दै आएको छ । कहिले फ्रिज त कहिले एसी आफ्नो क्वार्टरमा लगाई दिन जिन्सी शाखामा दबाव दिदै आएको छ । कर्मचारीहरु र कार्यालय प्रमुख साहबीच जिन्सी शाखाबाट लिएको सामान बुझिलिएको भन्ने हस्ताक्षर गरिदिन र तलबका लागि दिनभरि नै विवाद भयो ।
यता कार्यालय प्रमुख साहले शुरुमा कुरा गर्न मान्नु भएन, उहाँ प्रतिक्रिया दिनबाट भाग्न खोजिरहेको थियो । तर संचारकर्मीहरुले पन्च्याउंदै जाँदा अन्ततः उहाँले लेखापालले काम नगरेको कारण तलब नखुवाएको बताए । दशैं जस्ता पर्वमा तलब नदिनु कतिको जायज हो जिज्ञासामा उनले कर्मचारी मात्र होइन पत्रपत्रिकाको समेत भुक्तानी बांकी रहेकाले एकैचोटी व्यवस्थापन गर्नेछु भने ।
आन्दोलनरत कर्मचारीहरुले तलब भुक्तानी नभएसम्म कार्यालयको ताल्चा नखोल्ने चेतावनी दिएका छन । हुलाक कार्यालय धनुषामा स्थायी, करार र इकाई कार्यालय सहितका गरी करीब तीन सय कर्मचारीको तलब बाँकी रहेको छ ।