एसपी रिपोर्टर
जनकपुरधाम, असोज २९ : नवरात्र प्रारम्भ भएको छ । नवरात्रको दोस्रो दिन माँ ब्रहमचारिणीको पुजा आराधना गरिदैछ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । एता जनकपुरधाममा दशमीको बेग्लै धुमधाम र रौनक छाएको छ ।
विहान र साँझ जनकपुरधामको मुख्य शक्तिपिठ माँ राजदेवी, माँ बौद्धी र माँ अन्नपुर्णा अमरखाना सहितका मन्दिरहरुमा दर्शनालुहरुको घुईचो लाग्न थालेको छ । साथै यहाँका विभिन्न चौक स्थित शक्तिपिठहरु, बनाइएका माँ दुर्गाभवानीको भव्य पण्डालहरु सहिताकामा पनि स्थानिय र दर्शनालुहरुको भिडभाड लाग्न थालेको छ ।
तस्वीरमा प्रस्तुत छ, विजयादशमी २०८० का केहि झलकहरु
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।