एसपी रिपोर्टर
जनकपुरधाम, असोज २६ :
जनकपुरधाममा राजदेवी पूजाका लागि तयारी अन्तिम चरणमा आयोजक स्थानीय महाविर युवा कमिटिले जनाएको छ । शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरी पूजाका कार्यक्रमहरु सार्वजनिक गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
कमिटिका अध्यक्ष अजय गुप्ताले घटस्थापना देखि रावणवद्ध सम्मको कार्यक्रम सहित खर्च समेत सार्वजनिक गरेका छन् । कार्यक्रम अनुसार आइतबार घटस्थापना पुजा, कर्तिक ४ गते फुलपातीमा विहान सातबजे भव्य बेलतोरीको कार्यक्रम हुने छ भने साझ साढे ६ बजे भव्य श्रृगार एवम महाआरती कार्यक्रम हुने जनाइएको छ । त्यसैगरी कार्तिक ५ गते महाष्टमीमा आइतबार सन्ध्या सातबजे देखि बली प्रदान कार्यक्रम हुनेछ । त्यसैगरी कमिटिले कार्तिक ७ गते मंगलबार मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको दिउसो १ बजे भव्य विजय जुलुस मनाउने छ भने साझ ६ बजे धनुष सागरको डिलमा रावण वधको कार्यक्रम हुने अध्यक्ष गुप्ताले जानकारी दिए । त्यस्तै सोही दिन साँझ सातबजे नौ कन्याको भोजन र रात्री आठबजे राजदेवी माता मन्दिर परिसरमा महाप्रसाद वितरण गरिने लगायतको कार्यक्रम सार्वजनिक गरिएको छ ।
सुरक्षा अवस्थालाई चुस्त दुरुस्त बनाउन ३२ वटा सिसि क्यामरा जडान गरिएको बताउदै उनले भजन संध्या हेर्नमा भक्तजनलाई कठिनाई हुदै आएकोमा अब देखि बाहिर पनि ठुलो एलसिडी जडान गरिएको बताए । अध्यक्ष गुप्ताले पछिल्लो बर्षको बली प्रदानबाट आएका आम्दानी र खर्चको विवरण समेत सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा महाअष्टमी कालरात्री बोकाबलीको कुल आय तीस लाख दुइ हजार छ सय रहेको जानकारी दिए ।
बोकाबलीको रसिद छपाईमा २५ हजार ३ सय, ठेहा वापत १० हजार, विजुली विल वापत ६९ हजार ९ सय ५५ खर्च भएको छ भने बोका काटेकोलाई दिएको वापत ६० हजार, महन्थ राम गिरीलाई पुजापाठ वापत २ लाख १ हजार प्रदान गरिएको अध्यक्ष गुप्ताले जनाए । बाँकी रहेकोमध्ये महाविर युवा कमिटिलाई र राम युवा कमिटिलाई क्रमशः ११ लाख ७० हजार र ११ लाख ७० हजार दिइएको उनको भनाई थियो ।