एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ : सिमावर्ती भारतको विहार र मधेशका अगुवाहरु सम्मिलित संवादमा हाल दुई देशको सिमानाकामा देखिएको समस्याले दुवै देशका जनतालाई पिडा भइरहेको भन्दै दबाबमुलक कार्यक्रम गर्नुपर्ने निश्कर्ष निकालेको छ । दुई देशका राज्य (प्रहरी र प्रशासन)को दुव्र्यहारले दुवै देशका जनतालाई सास्ती भइरहेको र यस्ले पौरानिक, एतिहाँसिक, धार्मिक तथा सांस्कृतीक मात्र नभई पारिवारिक सम्बन्धमा समेत खलल पुग्ने काम गरेको वक्ताहरुले बताए ।
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूह जनकपुरधामले आज जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवाद कार्यक्रममा श्रममन्त्री सिंहले सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन गर्दा सांस्कृतिक पारिवारिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर गर्नुपर्ने बताए ।
खुल्ला सीमाले धेरै विषयमा सहजता भए पनि सहज पुर्वक भेटने लागुऔषधको कारण युवाहरू कुलतमा फस्दै गएकोप्रति पनि दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा अन्य वक्ताले बताए । मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रदेश सांसद रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणमा साँझा प्रयासको आवश्यकतामा जोड दिए ।
नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले नेपालको सच्चा मित्र भारत भएको बताउँदै सीमामा आउने विवादको शान्तिपूर्ण रुपमा समाधान गर्दै सीमा क्षेत्रका नागरिकलाई असहजता उत्पन्न हुने कुनै पनि गतिविधि हुन नहुने बताए । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले खुल्ला सीमानाको विषयमा वृहत् समीक्षा हुन जरुरी रहेको बताए ।
भारत सरकारको वीरगञ्ज स्थित महावाणिज्य दूतावासका प्रतिनिधी शैलेन्द्र कुमारले नेपाल भारत बीचको सम्बन्ध अन्य मुलुकको सम्बन्ध भन्दा फरक भएकाले सिमानामा रहेको भारतीय सीमा सुरक्षा बललाई नेपालीसँग सरल व्यवहार गर्न निर्देशन दिइएको बताएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खुल्ला सीमाका कारणले चोरी पैठारी बढेका कारण सिमावर्ती नेपालका बजारमा कारोबार घटेको चर्चा गर्दै सीमाको व्यवस्थापन वैज्ञानिक एवं मित्रवत् हुनुपर्ने धारणा राखे ।
नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाले एक कार्यपत्र प्रस्तुत गर्दै दुवै देशको राज्य दिल्ली र काठमाण्डौं हवाईमार्गबाट सम्पर्क साध्ने गरेकाले सिमाको समस्या र पिडा प्राथमिकतामा पर्न नसकेको जिकिर गरे । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका कार्यवाहक अध्यक्ष डा. विजय कुमार सिंहले दुवै देशको प्रहरी प्रशासनले गर्ने व्यवहारले सदियौ देखिको सम्बन्धनमा प्रभाव पार्ने भएकाले सिमामा हुने व्यवहारको अनुगमन दुवै देशले गर्न आवश्यक रहेको बताए ।
नेकपा माओवादी धनुषाका इन्चार्ज विजयशंकर नायक, भारति विहारका प्रा.डा नवल किशोर सिंह, नागरिक समाजका मुरली मनोहर मिश्र, विहारका पत्रकार ललित झा, जयनगर चेम्वर अफ कर्मशका अनिल बडेल, लोसपा नेता रमण पाण्डे, नगराईन नगरपालिकाका प्रमुख बिनय कुमार यादव सहितका वक्ताहरूले सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई र नेपाल प्रहरीले भारतिय नागरिकलाई दु:ख दिन थालेको बताउनुभयो ।
कार्यक्रममा दुवै देशका नागरिक सम्मिलित सीमा संवाद समूहका अध्यक्षबाट संयुक्त रुपमा सीमामा देखिएको समस्या समाधानका लागि भारतीय महावाणिज्य दूतलाई लिखित ज्ञापनपत्र दिइएको थियो ।