एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ : नेकपा एमाले मधेश प्रदेशको नेतृत्व छान्न हिजो देखि सुरु भएको पार्टीको पहिलो मधेश अधिवेशनको बन्दसत्र जनकपुरधाममा जारी छ । हिजो अवेर राती सम्म चलेको बन्द सत्रले प्रदेश अध्यक्ष रामअवतार यादवको सांगठनिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा मधेशमा मुल प्रतिस्पर्धी पार्टीका रुपमा नेपाली कांग्रेसलाई प्रस्तुत गरिएको छ ।
कांग्रेसलाई दलाल पुजीवादी वर्ग चरित्र, नवउदारवादी पुजीवादी बाटो, यथास्थितीवाद र राष्ट्रियताका सवालमा ढुलमुले एवं सम्झौता परस्त पार्टीको रुपमा दर्शाइएको छ भने मधेश केन्द्रित क्षेत्रीय दलहरुलाई क्षेत्रीय र जातीवादी दलका रुपमा संकेत गरिएको छ । मधेश केन्द्रित दलहरुलाई पनि संर्किन, यथास्थितीवादी एवं राष्ट्रियताका विषयलाई असर पुरयाउने सोच भएको पार्टीका रुपमा चित्रण गरिएको छ । मिशन २०८४ मा सवै तहका निर्वाचनमा कम्तिमा ५१ प्रतिशत स्थान हासिल गर्ने उद्देश्यलाई समावेश गरिएको प्रतिवेदन रातीनै पारित भएको र अव नेतृत्वका विषयमा सहमतीको प्रयास भइरहेको प्रतिनिधीहरुले बताए ।
बुधवार अधिवेशनलाई सम्बोधन गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मिशन २०८४ सफल पार्न सक्ने नेतृत्व छान्न नेता कार्यक्रताहरुलाई निर्देशन दिएका थिए । मधेश ईन्जार्च योगेश भट्टराईले २०८४ को मुख्यमन्त्रीको कुर्सी एमालेका लागि सुरिक्षत रहेको बताउदै हिमालबाट आएर मधेशका लागि काम गर्न पाँउदा खुसी लागेको बताउदै सहमतीबाटै नेतृत्व छानिने संकेत गरिसकेका छन् । साँझ सम्म पदाधिकारीहरु सबैमा सहमतिको प्रवल सम्भावना रहेको एमाले स्रोतको भनाई छ ।
मधेशको नेतृत्वमा संविधानसभा सदस्य विचारी यादव र सर्लाही अध्यक्ष राजनारायण साहको दावी छ उनीहरु दुवैजनालाई रघुविर महासेठ समुहको साथ रहेको चर्चा छ । त्यसै गरि सिरहा अध्यक्ष चन्देश्वर मण्डलले पनि अध्यक्षमा आकांक्षा देखाएका छन उनलाई पोलीटब्यूरो सदस्य लिलानाथ श्रेष्ठको साथ छ ।
धनुषाका अध्यक्ष राजकिशोर यादव र सचिव लक्ष्मीनारायण यादवको पनि प्रदेश अध्यक्षमा दावी छ । उनीहरुलाई सुमन प्याकुरेल र सरोज यादव समुहको साथ रहेको चर्चा छ । साँझ सम्म सहमतीको प्रयास गरिने र सम्भव नभए राती मनोनयनको प्रक्रिया थालिने र भोली निर्वाचन हुने सम्भावना रहेको प्रतिनिधीहरुको भनाई छ ।