एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ :
इजरायलमा उग्रवादी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपही निवासी आनन्द साहको परिवारलाई ५ लाख रुपैया राहत दिने मधेश प्रदेश सरकारले घोषणा गरेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मृतक आनन्द साहका पिडीत परिवारप्रति सम्वेदना व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट राहतस्वरुप ५ लाख रुपैया प्रदान गरिने घोषण गरेका छन् । मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी राहतको घोषणा बारे जानकारी गराएका हुन ।
उनले विज्ञप्तिमा इजरायलमा उग्रवादी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका दस नेपालीको निधनको खबरले हामीलाई स्तब्ध र मर्माहत तुल्याएको भन्दै शोक व्यक्त गरेका छन् ।
गत भदौ २५ र २६ गते ४९ जना नेपाली युवा अर्न एंड लर्न कार्यक्रम अन्तर्गत प्रयोगात्मक कृषि अध्ययनका साथ आय आर्जन गर्न इजरायल पुगेकोमा हमास समूहको बर्बर आक्रमणले सुदूर पश्चिमदेखि, मधेश प्रदेश, कोशी प्रदेशका दस नेपाली युवा आनन्द साह, नारायणप्रसाद न्यौपाने, गणेशकुमार नेपाली, आशीष चौधरी, दीपेशराज विष्ट, राजन फुलारा, पदम थापा, प्रवेश भण्डारी, लोकेन्द्रसिंह धामी र राजेशकुमार स्वर्णकारको जीवन खोसेकोमा हामी सारा नेपाली शोकमग्न भएको विज्ञप्तिमा भनेका छन् ।