एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ :
विजयादशमी सहितका चाडपर्वलाई लक्षित गरी धनुषा प्रहरी विशेष सुरक्षा योजना बनाएको छ । आउंदो विजयादशमी सहितका चाडपर्वमा सर्वसाधारणको सुरक्षा तथा सहजीकरणका लागि क्यूआरटी टोली, मोबाइल गस्तीदेखि यात्रु सहायता कक्षा र स्ट्राइकिङ्ग सहितका प्रहरी टोली परिचालन गर्ने भएको छ ।
मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी अवाले एक पत्रकार सम्मेलन आयोजना गरी विजयादशमी सहितका चाडपर्वमा चोरी र दुर्घटना लगायतका घटना भएको हुनाले विशेष सुरक्षा योजना तयार पारिएको जानकारी दिए ।
उनले भने फास्ट रिस्पोन्सका लागि ७ वटा क्यूआरटी अर्था क्वीक रिस्पोन्स टीम परिचालन गरिनेछ । सो क्युआरटी ७५ जना प्रहरीको टीम रहनेछ । दुर्घटना भए लगतै जनकपुरधाम नगरमा ५ मिनेट भित्र क्यूआरटी टोली पुग्नेछ । त्यसका अतिरिक्त १३ वटा मोबाइल टोली परिचालन गरिनेछ । क्यूआरटी टोलीबाट समस्या समाधान हुन नसके दोषी वा घटनामा संलग्न व्यक्तिलाई गाडीमा राखेर नजिकको प्रहरी चौकी वा जिप्रकामा ल्याउनेछ ।
चाडपर्वका बेला तेश्रो मुलुक खासगरी भारतबाट आउने नेपाली नागरिक ठगिने वा चोरीको घटनामा पर्ने भएको हुनाले तिनीहरुलाई लक्षित गरी जिल्लाभरिमा १० वटा यात्रु सहायता कक्ष संचालनमा ल्याउनेछ । उनका अनुसार सीमावर्ती क्षेत्र खजुरी, इनरुवा, जटही, जनकपुरधामस्थित नयाँ बसपार्क, रामानन्द चोक, पिराडी चोक, रेलवे स्टेशन र जिल्लाको ढल्केवर, पोर्ताहा, लालगढमा यात्रु सहायता कक्ष राखिनेछ ।
यसबाहेक धार्मिक पर्यटकीय र सांस्कृति कार्यक्रम हुने र चाडपर्वमा किनबेच बढी हुने भएकाले त्यस्ता ठाउँमा चोरीको घटना हुन सक्ने लक्षित गरी सर्वसाधारण आमनागरिकको सुरक्षाको दृष्टिगत गरी ८ वटा सुरक्षा गस्ती टोली परिचालन गरिनेछ । ती टोली दिनभरि र राति समेत डियूटी मिलाएर खटने जानकारी उनले दिए ।
साथै चाडपर्वले गर्दा कालोबजारी हुने भएकाले सो रोक्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन टोली समेत परिचालन गरिने प्रवक्ता अवाले बताए । सर्वसाधारण असजहताको दृष्टिगत सादा र पोशाक दुवैमा प्रहरी टोली परिचालन गरिनेछ । नगरभरिमा सशस्त्र प्रहरी समेत गरी ६ सय ६८ जना प्रहरी परिचालन गरिने जानकारी समेत उनले दिए ।