एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
मधेसका सभामुख रामचन्द्र मण्डलले स्वास्थ्य पेशमा लागेकाहरुलाई विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका छन् । मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले आयोजना गरेको मधेस सरकार र स्थानिय तहहरुबिच प्रयोगशाला सेवा सहकार्य कार्यक्रममा बोल्दै सभामुख मण्डलले बिरामीहरुमा स्वास्थ्य सेवाप्रति विश्वास जगाउन आग्रह गरे । उनले उत्कृष्ट लैब रिपोर्ट सफल चिकित्सक बनाउने भएकाले अब मधेसमै आधुनिक स्तरको प्रयोगशाला भएपछि सहज हुने बताए । यद्यपि पालिकाहरुमा खोलिएका प्रयोगशालामा दक्ष जनशक्ति नरहेको गुनासो आईरहेको समयमा ती प्रयोगशालाहरुमा कम्तीमा दक्ष चिकित्सकको दरबन्दी व्यवस्थापन गर्न तर्फ ध्यान पुर्याउनु आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले मधेसमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन प्रदेश सरकार कटिबद्ध रहेको बताए । यहाँका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय सरकारको रहेकाले यस तर्फ लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेश हरेक सूचकांकमा पछाडी रहेकोमा चिन्ता व्यक्त गर्दै यसका लागि यहीँका व्यक्ति दोषी रहेको बताए ।
सो कार्यक्रममा पालिकाहरुमा रहेका प्रयोगशाला मध्ये उत्कृष्ट सेवा प्रदान गर्ने प्रयोगशालाहरुलाई सम्मान गरिएको थियो ।