एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
विवादास्पद अभिव्यक्ति दिएर पक्राउ परेका आचार्य श्रीनिवासले धरौटीमा छुटे लगत्तै नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् ।
जनकपुरधाममा केही दिन अगाडी गौहत्या बिरुद्ध निकालिएको बिरोध रैलीलाई सम्बोधन गर्दै विवादास्पद अभिव्यक्ति दिएर पक्राउ परेका आचार्य श्रीनिवासले धरौटीमा छुटेपछि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ दोहर्याएका हुन् । उनले धर्म सापेक्षताका लागि र नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि शान्तिपूर्ण धार्मिक कार्यक्रम लिएर जन जनमा पूग्ने बताए ।
धर्म निरपेक्षताको आडमा गौहत्या तथा हिन्दु धर्ममाथी प्रहार भईरहँदा समेत राज्य मौन बसेको समयमा यो आवाज लिएर संसद भवन अगाडी पुग्ने बताए । नेपाल हिन्दु राष्ट्र कायम नभएसम्म बोलि रह्ने र यो अभियानकालागि सम्पूर्ण हिन्दुहरुलाई एक हुन आचार्य श्रीनिवासले आग्रह गरे ।
उनले आफूले गाइ मार्नेलाई काटि दिनु पर्छ भन्ने अभिव्यक्ति आवेशमा आएर दिएको स्वीकार गर्दै आफू माफी मागेर नछुटेको स्वीकार गरे । उनले म पक्राउ पर्दा सम्पूर्ण हिन्दु सडकमा उतरिन्छन् भन्ने डरले आफूलाई प्रशासनले छोडेको तर माफी मागेर नछुटेको बताए ।
गत असोज १२ गते जनकपुरधाममा भएको गौहत्या विरुद्ध भएको विरोध प्रदर्शनमा श्रीनिवासले गौहत्या गर्नेलाई खुकुरीले काट्नु पर्छ सहितको आपतिजनक अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरी प्रहरीले मंगलबार बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको थियो ।
जनकपुरधामा अभिव्यक्ति दिएकाले उनलाई यहीँबाटै कारवाही प्रक्रिया अगाडी बढाइने भनी बुधबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो । मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएपनि उहाँलाई ५ सय रुपैयाँ जरिवाना तिराएर छोडिएको थियो ।